काठमाडौँ । ओपनएआईले आफ्नो कृत्रिम बुद्धिमत्तामा आधारित वेब ब्राउजर च्याटजिपिटी एटलस आगामी अगस्ट ९ देखि बन्द गर्ने घोषणा गरेको छ ।
कम्पनीका उत्पादन टोलीका सदस्य जेम्स सनले सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएका हुन् । उनका अनुसार एटलस बन्द भए पनि त्यसका प्रविधि र कृत्रिम बुद्धिमत्ता सम्बन्धी क्षमता कम्पनीका अन्य उत्पादनमा समावेश गरिनेछ ।
सनले एटलस प्रयोगकर्ताबाट प्राप्त अनुभवका आधारमा वेब ब्राउजिङसँग सम्बन्धित नयाँ सुविधा च्याटजिपिटीका अन्य सेवामा ल्याइने बताए । कम्पनीले आगामी दिनमा एप तथा इमेलमार्फत प्रयोगकर्तालाई विस्तृत जानकारी उपलब्ध गराउने जनाएको छ ।
च्याटजिपिटी एटलस सन् २०२५ अक्टोबर २१ मा सार्वजनिक गरिएको ओपनएआईको पहिलो वेब ब्राउजर थियो । यसमा च्याटजिपिटीलाई प्रत्यक्ष रूपमा ब्राउजिङ अनुभवसँग जोडिएको थियो । सुरुआतमा यो म्याक सञ्चालन प्रणालीमा मात्रै उपलब्ध थियो भने अनुसन्धान, योजना निर्माण र बुकिङजस्ता काम गर्न सक्ने ‘एजेन्ट मोड’ पनि समावेश गरिएको थियो । विन्डोज, आईओएस र एन्ड्रोइड संस्करण ल्याउने घोषणा गरिए पनि ती सार्वजनिक हुन सकेनन् ।
एटलस बन्द भएसँगै कम्पनीले आफ्नो नयाँ जिपिटी– ५.६ मोडेल र ब्राउजरसम्बन्धी नयाँ सुविधालाई च्याटजिपिटी वर्क नामबाट एकीकृत गर्ने भएको छ । यसअन्तर्गत डेस्कटप एपभित्रै पूर्ण क्षमताको ब्राउजर, क्लाउडमा आधारित कार्य मोड तथा गुगल क्रोमका लागि नयाँ साइड च्याट विस्तार सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले ब्राउजिङ, अनुसन्धान, कोड लेखन र अन्य कृत्रिम बुद्धिमत्ता सेवाहरू एउटै प्रणालीबाट प्रयोग गर्न सक्नेछन् ।
ओपनएआईका अनुसार एटलसलाई कम्पनीकै विशेष वेब संरचनामा विकास गरिएको थियो, जसले छिटो सञ्चालन, स्थिरता र म्याक प्रणालीसँग सहज एकीकरण जस्ता सुविधा प्रदान गरेको थियो । कम्पनीले अब छुट्टाछुट्टै एप विकास गर्नुको सट्टा आफ्ना सबै प्रमुख कृत्रिम बुद्धिमत्ता सेवा एउटै मञ्चमा समेट्ने रणनीति अपनाएको जनाएको छ । यसबाट प्रयोगकर्ताले अलग ब्राउजर स्थापना नगरी च्याटजिपिटीभित्रै ब्राउजिङ, अनुसन्धान, कोडिङ र अन्य सेवा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।









