• २०८३ असार २७ शनिबार

एआई कम्पनीका कर्मचारी धनी बन्दै जादा सान फ्रान्सिस्कोमा घर किन्न मुस्किल

एआई कम्पनीका कर्मचारी धनी बन्दै जादा सान फ्रान्सिस्कोमा घर किन्न मुस्किल

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) उद्योगबाट सिर्जना भएको नयाँ सम्पत्तिले अमेरिकाको सान फ्रान्सिस्कोको घरजग्गा बजारलाई तीव्र रूपमा महँगो बनाएको छ । एआई कम्पनीका कर्मचारी र लगानीकर्ताको बढ्दो आर्थिक क्षमताले घरको मूल्य आकासिएको छ भने सामान्य आम्दानी भएका परिवारहरू शहर छाड्न बाध्य हुन थालेका छन् ।

सान फ्रान्सिस्कोको डुबोसे ट्राएङ्गल क्षेत्रमा रहेको एउटा विलासी फ्ल्याट बिक्रीका लागि करिब ३० लाख अमेरिकी डलर मूल्य तोकिएको थियो । विक्रेताले नगदसँगै ओपनएआई वा एन्थ्रोपिक कम्पनीका सेयर स्वीकार गर्न पनि तयार रहेको बताएका थिए । अन्ततः उक्त फ्ल्याट ३२ लाख अमेरिकी डलरमा बिक्री भयो, जुन माग गरिएको मूल्यभन्दा करिब २ लाख अमेरिकी डलर बढी हो । यद्यपि, कारोबारमा एआई कम्पनीको सेयर प्रयोग गरिएको थियो वा थिएन भन्ने विवरण गोप्य राखिएको छ ।

घरजग्गा कम्पनी रेडफिनका अनुसार मे महिनामा सान फ्रान्सिस्कोमा घरको औसत मूल्य १७ लाख ६० हजार अमेरिकी डलर पुगेको छ । यो अमेरिकाभरको औसत मूल्य करिब ४ लाख अमेरिकी डलरको तुलनामा चार गुणाभन्दा बढी हो । मार्चमा घरको मूल्य १९ प्रतिशतले बढेको थियो भने अप्रिल र मे महिनामा पनि १४ प्रतिशतभन्दा बढी वृद्धि कायम रह्यो।

रेडफिनकी प्रमुख अर्थशास्त्री ड्यारिल फेयरवेदरका अनुसार यो मूल्यवृद्धिको मुख्य कारण एआई कम्पनीका कर्मचारीले कमाएको ठूलो सम्पत्ति हो । गत वर्ष अक्टोबरमा ओपनएआईका ६ सयभन्दा बढी वर्तमान तथा पूर्व कर्मचारीले आफ्ना सेयर बिक्री गरेर करिब ६.६ बिलियन डलर बराबरको आम्दानी गरेका थिए । औसतमा प्रत्येक कर्मचारीले करिब ११ मिलियन डलर प्राप्त गरेका थिए । त्यसैगरी, एन्थ्रोपिकका कर्मचारीलाई पनि करिब ६ बिलियन डलर बराबरका सेयर बिक्री गर्न अनुमति दिइएको थियो ।

घरजग्गा व्यवसायीहरूका अनुसार अहिले घर खरिदमा प्रतिस्पर्धा निकै बढेको छ । धेरैजसो घर माग गरिएको मूल्यभन्दा लाखौं डलर बढीमा बिक्री भइरहेका छन् । विशेषगरी महँगा क्षेत्रमा नगद भुक्तानीमार्फत हुने कारोबार तीव्र रूपमा बढेको छ ।

यद्यपि, सबैले यो अवस्थाबाट लाभ उठाएका छैनन् । क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका अर्थशास्त्री एनरिको मोरेटीका अनुसार एआई उद्योगको विस्तार अझै प्रारम्भिक चरणमै छ । उनका अनुसार मेटाजस्ता कम्पनीमा भइरहेको कर्मचारी कटौतीले भविष्यमा घरजग्गा बजारको यो तीव्र वृद्धि केही सुस्त बनाउन सक्छ । साथै, ओपनएआई र एन्थ्रोपिक भविष्यमा सेयर बजारमा सूचीकृत हुँदा त्यसबाट हुने अधिकांश लाभ कर्मचारीभन्दा पनि विश्वभरका लगानीकर्ताले पाउने सम्भावना रहेको उनले बताएका छन् ।

यसबीच, सान फ्रान्सिस्कोका दुई परिवारको अनुभवले एआईको आर्थिक प्रभावको फरक-फरक चित्र देखाएको छ । ओपनएआईमा कार्यरत सदस्य रहेको एक परिवारले सेयर बिक्रीबाट प्राप्त रकम प्रयोग गरेर आफ्नै क्षेत्रमा घर किन्न सफल भयो । तर, अर्को गैर-प्रविधि क्षेत्रसँग सम्बन्धित परिवार भने महँगो बन्दै गएको घरजग्गा बजारका कारण शहर छाडेर उपनगरमा बस्न बाध्य भयो । शहर छाड्नुपरेको परिवारका प्रमुख सान फ्रान्सिस्कोमै उच्च सरकारी पदमा कार्यरत भए पनि शहरभित्र घर किन्न नसकेको बताइएको छ । अहिले उनीहरू उपनगरमा भाडाको घरमा बस्दै दैनिक लामो दूरी यात्रा गर्न बाध्य छन् । परिवारकी एक सदस्यले भनिन्- 'यदि शहरमै बस्ने सम्भावना भएको भए हामी कहिल्यै बाहिर जाने थिएनौं । एआईबाट आएको पैसाले अरू सबैलाई शहरबाट बाहिर धकेलिरहेको देख्दा दुःख लाग्छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै