• २०८३ असार २९ सोमबार

राजा चार्ल्स र राजकुमार ह्यारीको पारिवारिक भेट, सम्बन्ध सुधार्ने प्रयास

राजा चार्ल्स र राजकुमार ह्यारीको पारिवारिक भेट, सम्बन्ध सुधार्ने प्रयास

काठमाडौँ । बेलायतको शाही परिवारमा लामो समयदेखि देखिएको मतभेद अन्त्य गर्ने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्ना कान्छा छोरा राजकुमार ह्यारी र उनको परिवारसँग वर्षौंपछि पहिलो पटक भेट गरेका छन् । यस भेटमा ह्यारीसँग उनकी पत्नी मेगन, छोरा आर्ची र छोरी लिलिबेट पनि सहभागी भएका थिए ।

शाही दरबारले जारी गरेको जानकारीअनुसार लन्डनको पश्चिममा रहेको शाही निवास हाइग्रोभ हाउसमा राजा चार्ल्स, रानी क्यामिला, राजकुमार ह्यारी, मेगन र उनीहरूका दुई सन्तानबीच भेटवार्ता भएको हो ।

राजकुमार ह्यारी विभिन्न परोपकारी कार्यक्रममा सहभागी हुन बेलायत पुगेका थिए । तर उनको भ्रमणको सबैभन्दा ठूलो चासो उनी आफ्ना पिता राजा चार्ल्सलाई भेट्छन् कि भेट्दैनन् भन्ने विषयमा केन्द्रित थियो । साथै मेगन र दुवै सन्तान पनि बेलायत आउँछन् कि आउँदैनन् भन्ने विषयमा बेलायती सञ्चारमाध्यममा व्यापक चर्चा भएको थियो ।

ह्यारी र मेगनले करिब छ वर्षअघि शाही जिम्मेवारी त्याग्दै अमेरिका बस्ने निर्णय गरेका थिए। त्यसयता उनीहरू र शाही परिवारबीच सम्बन्ध चिसिएको मानिँदै आएको छ । 

राजा चार्ल्सको कार्यतालिका धेरै अघि नै तय हुने भएकाले पिता-छोराको भेट हुने सम्भावना निकै कम मानिएको थियो। तर अन्ततः दुवैबीच भेट हुन सफल भएको हो ।

यद्यपि सबै कुरा सहज भने रहेन । ह्यारी र शाही अधिकारीबीच केही असहज अवस्था पनि सिर्जना भएको थियो । सुरुमा अधिकारीहरूले उनलाई बकिङ्घम दरबारमा बस्न निमन्त्रणा दिएका थिए । तर समयमै जवाफ नआएपछि उक्त प्रस्ताव फिर्ता लिइएको थियो, जसले केही तनाव उत्पन्न गरेको बताइएको छ ।

ह्यारीको बेलायत भ्रमण अर्को कारणले पनि चर्चामा रह्यो । उनले बेलायती पत्रिकाविरुद्ध दायर गरेको गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतबाट हार बेहोरे । अदालतले ह्यारीले आफ्ना आरोप पुष्टि गर्न नसकेको ठहर गरेको थियो । शाही परिवारसँग देखिएको दूरीको एउटा कारण उनका यस्ता कानुनी विवाद पनि मानिन्छ ।

राजकुमार ह्यारीले यसअघि पनि क्यान्सरको उपचार गराइरहेका ७७ वर्षीय पिता राजा चार्ल्ससँग सम्बन्ध सुधार्न चाहेको सार्वजनिक रूपमा बताएका थिए । गत सेप्टेम्बरमा पनि छोटो बेलायत भ्रमणका क्रममा उनीहरूबीच चियापानसहित भेट भएको थियो ।

यो पारिवारिक भेटलाई शाही परिवारमा लामो समयदेखि देखिएको दूरी घटाउने र सम्बन्ध सुधार्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै