• २०८३ असार २९ सोमबार

अमेरिकी हस्तक्षेप नरोकिन्जेल होर्मुज बन्द रहने इरानको घोषणा

अमेरिकी हस्तक्षेप नरोकिन्जेल होर्मुज बन्द रहने इरानको घोषणा

काठमाडौँ । इरानले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलडमरूमध्य अर्को सूचना जारी नभएसम्म बन्द रहने घोषणा गरेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकाले यस क्षेत्रमा हस्तक्षेप अन्त्य नगरेसम्म जलडमरूमध्य बन्द रहने इरानको अडान छ ।

इरानको इस्लामिक रिभुलुस्नरी गार्ड कोर्प्सले जलडमरूमध्य बन्द गर्ने निर्णयविरुद्ध अमेरिकाले कुनै पनि सैन्य कदम चाले त्यसको कडा जवाफ दिइने चेतावनी दिएको छ । साथै, अमेरिकासँग सम्बन्धित क्षेत्रीय सैन्य अड्डाहरूलाई पनि निशाना बनाइने जनाएको छ । सुरक्षा बलले इरानले तोकेको मार्ग छाडेर आफ्ना पहिचान प्रणाली बन्द गरी अघि बढेको आरोप लगाउँदै अर्को एक जहाजतर्फ चेतावनीस्वरूप गोली चलाइएको पनि दाबी गरेको छ ।

यो घोषणा यसै साता तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि भएको आक्रमण र त्यसपछि इरान तथा अमेरिकाबीच भएको सैन्य कारबाहीपछि आएको हो। यसबारे अमेरिकाले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । इरानका अनुसार ओमानको समुद्री क्षेत्रमा अमेरिकाले सिफारिस गरेको मार्ग प्रयोग गरिरहेका तीन तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। इरानले भने आफ्नै समुद्री मार्गलाई मात्र सुरक्षित रहेको दाबी गर्दै आएको छ।

त्यसपछि भएको अमेरिकी आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रका अमेरिकी सहयोगीमाथि आक्रमण गरेको जनाएको छ । घटनापछि तनाव चुलिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको बताएका छन् । यता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका स्वयंले सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।

तनावका बीच पनि वार्ता जारी रहने संकेत दिँदै ट्रम्पले मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास जारी राखेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले इरानले तेल ट्याङ्करमाथिको आक्रमणलाई गल्ती भएको भन्दै त्यसको जिम्मेवारी आफ्नै एक नियन्त्रणबाहिरको समूहलाई दिएको जनाएको उल्लेख गरेका छन्।

अमेरिकी अधिकारीहरूले मध्यस्थकर्तामार्फत इरानलाई होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न र व्यापारिक जहाजमाथि आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै