• २०८३ असार ३० मंगलबार

अविरल वर्षापछि मकवानपुरका दुई सडकमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

अविरल वर्षापछि मकवानपुरका दुई सडकमा रात्रीकालीन सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षापछि मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई प्रमुख सडकमार्गमा तोकिएको समयका लागि सवारी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार २८ गते रातिदेखि परेको लगातार वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भई यातायात प्रभावित भएको तथा उच्च जोखिमको अवस्था सिर्जना भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रशासनका अनुसार यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समयपछि ती सडकमार्गमा सवारी सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

सूचनाअनुसार हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर सडक अन्तर्गत चौघडाबाट असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको छ । त्यसैगरी हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडक अन्तर्गत हेटौँडाको चौकीटोलबाट असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न तथा अनावश्यक यात्रा नगर्न सबैमा आग्रह गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै