काठमाडौं । देशका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको छ ।
भूमि समस्या समाधान समितिले सार्वजनिक गरेको सूचनाअनुसार समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।
समितिका अनुसार हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
सरकारले वर्षौंदेखि समाधान हुन नसकेको भूमिसम्बन्धी समस्या अन्त्य गर्दै नागरिकलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने उद्देश्यले लालपुर्जा वितरण प्रक्रियालाई थप तीव्रता दिने जनाएको छ। यसका लागि सरल, सहज र छरितो प्रक्रियामार्फत देशभर भूमिसम्बन्धी समस्या समाधान गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ ।









