• २०८३ असार ३१ बुधबार

फ्रान्सलाई हराउदै स्पेन विश्वकपको फाइनलमा

फ्रान्सलाई हराउदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौँ । स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । अवसर कम सिर्जना भएको खेलमा स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै जित दर्ता गरेको हो ।

स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पहिलो हाफको मध्यतिर पेनाल्टीमार्फत गरेका थिए । फ्रान्सका बायाँ रक्षक लुकास डिन्येले लामिन यामालमाथि फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। ओयारजाबालले त्यसलाई सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि स्पेनले आफ्नो लय कायम राख्यो । खेलको नियन्त्रण आफ्नो पक्षमा राखेको स्पेनका लागि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि नजिकको कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित र संगठित रक्षापङ्क्ति तोड्न सकेन । प्रतियोगिताभर एक गोल मात्र बेहोरेको स्पेनले अन्तिमसम्म संयमित प्रदर्शन गर्दै सहज जित सुरक्षित गर्यो ।

यस हारसँगै लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको छ । अब फ्रान्सले तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ । साथै, १४ वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको कार्यकाल पनि यही प्रतियोगितापछि समाप्त हुनेछ ।

अब स्पेन उपाधि भिडन्तका लागि न्यु जर्सी पुग्नेछ। फाइनलमा स्पेनले इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । स्पेनले यसअघि २०१० मा विश्वकप उपाधि जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै