• २०८३ असार ३१ बुधबार

एकदिवसीय विश्वकप नयाँ ढाँचामा, के के भयो परिवर्तन ?

एकदिवसीय विश्वकप नयाँ ढाँचामा, के के भयो परिवर्तन ?

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकपको प्रतियोगिता ढाँचामा ठूलो परिवर्तन गरेको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा अब सुपर सिरिज र सुपर ७ नामका दुई नयाँ चरण समावेश गरिने भएका छन् ।

एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलनपछि सार्वजनिक गरिएको नयाँ ढाँचाअनुसार प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । प्रारम्भिक चरणलाई अझ प्रतिस्पर्धात्मक बनाउन र प्रत्येक खेलको महत्व बढाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको आईसीसीले जनाएको छ ।

नयाँ ढाँचाअनुसार छनोटमा १२औँदेखि १४औँ स्थानमा रहने तीन टोलीबीच पहिले सुपर सिरिज खेलाइनेछ। यस चरणबाट एक टोली समूह चरणमा पुग्नेछ र त्यसपछि १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

समूह चरणपछि दुवै समूहका शीर्ष तीन-तीन टोली तथा दुवै समूहमध्ये उत्कृष्ट अर्को एक टोली गरी सात टोली सुपर-७ चरणमा पुग्नेछन् । सुपर-७ मा सबै टोलीले एकअर्कासँग खेल्नेछन् र शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यसअघि सन् २०१९ र २०२३ को विश्वकप १० टोलीबीच आयोजना गरिएको थियो । त्यसपछि आईसीसीले सन् २०२१ मा १४ टोलीको विश्वकप गराउने निर्णय गरेको थियो । प्रारम्भिक योजनाअनुसार दुई समूहबाट सुपर-६ चरण हुँदै सेमिफाइनल र फाइनल हुने व्यवस्था थियो । तर अब त्यसलाई परिवर्तन गर्दै सुपर सिरिज र सुपर–७ चरण समावेश गरिएको हो ।

हालै सम्पन्न टी-२० विश्वकपमा धेरै खेलको नतिजाले प्रतियोगितामा खास प्रभाव नपारेको भन्दै आलोचना भएपछि आईसीसीले प्रारम्भिक चरणमै प्रतिस्पर्धा बढाउने निर्णय गरेको हो । यसले प्रत्येक खेललाई थप महत्वपूर्ण बनाउने विश्वास गरिएको छ ।

आईसीसीका अनुसार नयाँ संरचनाले प्रतियोगिताको हरेक चरणलाई अर्थपूर्ण बनाउनेछ र सुपर-७ चरणले सेमिफाइनल प्रवेशका लागि अझ कडा प्रतिस्पर्धा सिर्जना गर्नेछ ।

प्रतियोगिताको अन्तिम तालिका र विस्तृत खेलतालिका आगामी अक्टोबरमा बस्ने आईसीसी बैठकबाट अनुमोदन गरिने बताइएको छ । अधिकांश खेल दक्षिण अफ्रिकामा हुनेछन् भने करिब १० खेल जिम्बाब्वेमा र केही खेल नामिबियामा आयोजना गरिने अपेक्षा गरिएको छ । विश्वकपका लागि छनोट प्रक्रिया भने यथावत् रहने बुझिएको छ । १४ टोलीमध्ये १० टोलीले स्वतः स्थान बनाउनेछन् । आयोजक राष्ट्र दक्षिण अफ्रिका र जिम्बाब्वेसहित सेप्टेम्बर २०२६ सम्मको एकदिवसीय वरीयताका शीर्ष आठ टोलीले प्रत्यक्ष विश्वकप खेल्नेछन् ।

बाँकी चार टोली विश्वव्यापी छनोट प्रतियोगिताबाट तय हुनेछन् । त्यस प्रतियोगितामा वरीयताका अर्को दुई टोली, विश्वकप क्रिकेट लिग-२ बाट चार टोली र छनोट प्लेअफबाट चार टोली गरी १० टोली सहभागी हुनेछन् । उक्त छनोट प्रतियोगिता सन् २०२६ को डिसेम्बर वा २०२७ को जनवरीमा नामिबिया वा दक्षिण अफ्रिकामा आयोजना हुने सम्भावना रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै