Skip This
  • २०८३ असोज १२ सोमबार

यू–१९ महिला विश्वकपको तयारी निरीक्षण गर्न आईसीसीको टोली नेपालमा

यू–१९ महिला विश्वकपको तयारी निरीक्षण गर्न आईसीसीको टोली नेपालमा

काठमाडौं । सन् २०२७ मा नेपालले सहआयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकपको तयारी निरीक्षण तथा समीक्षा गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले सेप्टेम्बर २७ र २८ मा नेपालको भ्रमण गरेका छन् ।

आईसीसीका कार्यक्रम तथा सञ्चालन महाप्रबन्धक गौरव सक्सेनाले नेपालमा यू–१९ महिला विश्वकप आयोजना गर्न पाउँदा उत्साहित रहेको बताएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

उनले नेपालमा क्रिकेटप्रतिको उत्साह विश्वका अन्य कुनै पनि देशको तुलनामा कम नभएको उल्लेख गर्दै यस प्रतियोगिताले नेपालसँग क्रिकेटको सम्बन्ध अझ मजबुत बनाउने अवसर प्रदान गर्ने बताएका छन् ।

सक्सेनाका अनुसार आईसीसीका कुनै पनि प्रतियोगिताको योजना तथा सफल आयोजनाका लागि निरीक्षण भ्रमण महत्वपूर्ण हुने गरेको छ । नेपालमा प्रतियोगिताको तयारीमा भइरहेको प्रगतिप्रति आईसीसी टोली खुसी रहेको र भ्रमणका क्रममा विश्वस्तरीय प्रतियोगिता आयोजना गर्न आवश्यक विभिन्न विषयमा विस्तृत छलफल गरिएको उनले बताएका छन् ।

उनले आईसीसीको तर्फबाट नेपाल क्रिकेट संघलाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै प्रतियोगिताको तयारीका क्रममा आगामी महिनाहरूमा पनि नेपाल क्रिकेट संघसँग नजिकबाट सहकार्य गर्ने बताएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै