काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ । एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ । केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल आसपासमा फिल्मको बाँकी छायाँकन हुने निर्मात्री शर्मिला थापाले जानकारी दिईन् ।
‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभरमा फिल्मको छायांकन सकिने तयारी अनुरुप सुरुआत गरेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ', उनले भनिन् ।
छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली र बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले शट दिएका थिए । फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका छन् । निर्देशकसँगै कथाकार रहेका गुरुङले फिल्मले मनोरन्जनसँगै दिने संदेश महत्वपूर्ण रहेको बताए । उनले फिल्मलाई मनदेखि नै तयार गर्न लागिएको बताए । ‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौँ । एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुँदैछ’, उनले भने ।
फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् । यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् । फिल्म आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गते प्रदर्शन हुनेछ ।









