• २०८३ श्रावण २ शनिबार

अनशनरत सोनम वाङ्चुकलाई प्रहरीले जबर्जस्ती अस्पताल लागेको आरोप

अनशनरत सोनम वाङ्चुकलाई प्रहरीले जबर्जस्ती अस्पताल लागेको आरोप

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा विभिन्न माग राख्दै जुन २८ देखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार बिहान प्रहरीले अस्पताल लगेको छ ।

ककरोच जनता पार्टीले प्रहरीको टोलीले वाङ्चुकलाई जबर्जस्ती प्रदर्शनस्थलबाट उठाएर अस्पताल लगेको तथा त्यहाँ रहेका विद्यार्थीमाथि लाठी प्रहारसमेत गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमा वाङ्चुकलाई प्रहरीले प्रदर्शनस्थलबाट लगिरहेको तस्बिर पनि सार्वजनिक भएका छन् ।

पार्टीका संस्थापक अभिजीत दीपकेका अनुसार आफू बिहान करिब सात बजे केहीबेरका लागि बाहिर निस्किएका बेला प्रहरी त्यहाँ पुगेको र वाङ्चुकलाई घिसार्दै लगेको दाबी गरेका छन् ।

घटनास्थलमा रहेका एक व्यक्तिले बिहान चिकित्सकको टोलीका नाममा करिब १० जना प्रहरी प्रदर्शनस्थलमा प्रवेश गरेको र उनीहरू चिकित्सकजस्ता नदेखिएकाले आफूहरूले प्रहरी भएको अनुमान गरेको बताएका छन् ।

यता, नयाँ दिल्लीका प्रहरी उपायुक्तले सामाजिक सञ्जालमार्फत दिल्ली उच्च अदालतको आदेश र विशेषज्ञ चिकित्सकहरूको सल्लाहअनुसार वाङ्चुकको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले आवश्यक उपचारका लागि अस्पताल लगिएको बताएका छन् ।

वाङ्चुक जुन २८ देखि आफ्ना विभिन्न माग राख्दै आमरण अनशनमा छन्। शनिबार उनको अनशन २१औँ दिनमा प्रवेश गरेको हो । शुक्रबार राति सार्वजनिक गरिएको भिडियो सन्देशमा वाङ्चुकले अनशनका कारण आफ्नो शरीरको करिब २० प्रतिशत तौल घटिसकेको भए पनि मानसिक अवस्था अझै सामान्य रहेको बताएका छन् । उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेतसमेत दिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै