• २०८३ श्रावण २ शनिबार

रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास नलिने, बोर्डले पार्यो स्पष्ट

रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास नलिने, बोर्डले पार्यो स्पष्ट

काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्डले रोहित शर्माको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने चर्चा अस्वीकार गरेको छ । बोर्डका सचिव देवजीत सैकियाले इङ्ग्ल्यान्डविरुद्ध लर्ड्समा हुने तेस्रो एकदिवसीय खेल रोहितको अन्तिम अन्तर्राष्ट्रिय खेल नहुने स्पष्ट पारेका छन् ।

उनले रोहितको भविष्यबारे सञ्चारमाध्यममा विभिन्न अड्कलबाजी भइरहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताएका छन् । सैकियाका अनुसार रोहितले भारतका लागि अझै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जारी राख्नेछन् ।

यसअघि भारतीय सञ्चारमाध्यमले लर्ड्समा हुने तेस्रो एकदिवसीय खेल रोहितको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्ने दाबी गरेका थिए । उक्त समाचारमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले सन् २०२७ को एकदिवसीय विश्वकपको योजनामा रोहित नपर्ने जानकारी दिइसकेको उल्लेख गरिएको थियो ।

समाचारमा छनोटकर्ताहरूले रोहितको स्थानमा यशस्वी जायसवालजस्ता युवा खेलाडीलाई अवसर दिने तयारी गरेको दाबी पनि गरिएको थियो । साथै, संन्यास लिने वा छनोटका लागि उपलब्ध रहने भन्ने निर्णय रोहितकै हातमा छोडिएको उल्लेख गरिएको थियो ।

इङ्ग्ल्यान्ड भ्रमणका क्रममा रोहितको प्रदर्शनलाई पनि यस्तो चर्चाको कारण मानिएको थियो । पहिलो दुई एकदिवसीय खेलमा उनले क्रमशः ११ र २६ रन मात्र बनाउन सकेका थिए । फिटनेसमा मेहनत गरे पनि छनोटकर्ताको सोचप्रति रोहित पूर्ण रूपमा सन्तुष्ट नरहेको र उनले यस विषयमा बोर्डका केही पदाधिकारीसँग छलफल गरेको दाबी पनि गरिएको थियो । तर भारतीय क्रिकेट नियन्त्रण बोर्डले भने यी सबै अड्कलबाजीलाई अस्वीकार गर्दै रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटलाई निरन्तरता दिने स्पष्ट गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै