काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुई यात्रुबाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्। दुर्घटनामा एउटा बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ जाँदै गरेका बागमती प्रदेश ०३–००१ ख ५२८४ र बागमती प्रदेश ०३–००१ ख ३६६० नम्बरका यात्रुबाहक बसलाई ठक्कर दिएको हो। ठक्करको प्रभावले ०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौँडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ हरैताका ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय सफल मगर तथा ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिमन्त राजमार्ग अस्पताल चपुरमा उपचाररत सफल मगर भने उपचारकै क्रममा आफ्नै इच्छाले अस्पतालबाट हिँडेको बताइएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मदिरा सेवन गरी सवारी चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









