• २०८३ श्रावण ११ सोमबार

भारतद्वारा जिम्बाब्वेविरुद्धको टी-२० सिरिज क्लिन स्विप, सूर्यवंशी बने प्लेयर अफ द सिरिज

भारतद्वारा जिम्बाब्वेविरुद्धको टी-२० सिरिज क्लिन स्विप, सूर्यवंशी बने प्लेयर अफ द सिरिज

काठमाडौँ । भारतले जिम्बाब्वेलाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ रनले पराजित गर्दै तीन खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पार्दै क्लिन स्विप गरेको छ । श्रेयस अय्यरको कप्तानीमा भारतको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय सिरिज जित हो । यसअघि उनको कप्तानीमा भारत आयरल्यान्ड र इङ्ल्यान्डसँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन मात्र बनाउन सक्यो । रायन बर्लले ४३ बलमा पाँच चौकाको सहयोगमा अविजित ५४ रन बनाए। वेस्ले माधेभेरेले २८ तथा बेन करनले २० रन जोडे ।

भारतका लागि मयंक यादवले तीन विकेट लिए भने यश ठाकुरले दुई विकेट हात पारे। अशोक शर्मा र रवि बिश्नोईले एक–एक विकेट लिए ।

भारतका लागि वैभव सूर्यवंशीले शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलतर्फ डोर्‍याए । उनले सुरुआतमा संयमित ब्याटिङ गरे पनि त्यसपछि आक्रामक खेल प्रस्तुत गर्दै ३१ बलमा आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । अभिषेक शर्मा भने लगातार छैटौँ पटक ठूलो स्कोर बनाउन असफल भए । त्यसपछि सूर्यवंशीले ईशान किशनसँग दोस्रो विकेटका लागि ७५ रनको साझेदारी गरे । ईशानले २९ रन बनाए । त्यसपछि कप्तान श्रेयस अय्यरसँग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गर्दै टोलीको इनिङ्स मजबुत बनाए । अय्यरले २७ रन जोडे । शतक नजिक पुगेका सूर्यवंशी अन्ततः आउट भए । भारतका लागि रिंकु सिंहले २५ तथा तिलक वर्माले अविजित ११ रन बनाए ।

जिम्बाब्वेका ब्राड इभान्सले दुई विकेट लिए भने सिकन्दर रजा, ब्लेसिङ मुजाराबानी र वेस्ले माधेभेरेले समान एक–एक विकेट लिए ।

खेलपछि ‘प्लेयर अफ द म्याच’ तथा ‘प्लेयर अफ द सिरिज’ घोषित भएका वैभव सूर्यवंशीले आफू निकै खुसी रहेको बताए ।

उनले भने- ' 'यो मेरो लागि सपना पूरा भएको जस्तै हो । पहिलो पटक ‘प्लेयर अफ द म्याच’ र ‘प्लेयर अफ द सिरिज’ बन्न पाउँदा निकै खुशी लागेको छ । यहाँको तयारी राम्रो भएको थियो । प्रशिक्षक, कप्तान र सम्पूर्ण टोलीले मलाई निरन्तर साथ दिए । मैले स्वाभाविक खेल खेल्ने प्रयास गरे । टोलीलाई राम्रो सुरुआत दिलाउनु मेरो उद्देश्य हुन्छ । यसअघि यहाँ यू-१९ विश्वकप पनि खेलेको थिए र यहाँ ब्याटिङ गर्न मलाई निकै मन पर्छ । अभ्यासमा जे गर्छु, त्यसलाई नै खेलमा दोहोर्‍याउने प्रयास गर्छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै