काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानसँगको युद्धमा भएको सैन्य क्षतिको अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १४० भन्दा बढी सैनिक घाइते भएको जनाएको छ । साथै, गत साता इरानी आक्रमणमा ज्यान गुमाएका चार सैनिकको विवरण पनि पुनः अभिलेखमा समावेश गरिएको छ ।
पेन्टागनको रक्षा क्षति विश्लेषण प्रणालीमा सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार जुलाई ७ देखि सुरु भएको इरानविरुद्धको अमेरिकी सैन्य अभियानमा हालसम्म १८ सैनिकको मृत्यु भएको छ भने ६२४ जना घाइते भएका छन्। यसअघि सार्वजनिक गरिएको विवरणमा घाइतेको संख्या ४८२ रहेको थियो ।
युद्धको क्रममा सैनिक हताहतीको विवरण घट्दै गएको देखिएपछि पेन्टागनको पारदर्शितामाथि अमेरिकी सञ्चारमाध्यम र सांसदहरूले प्रश्न उठाएका थिए । त्यसपछि अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका १२ जना डेमोक्रेटिक सांसदहरूले रक्षा सचिव पिट हेगसेथलाई पत्र लेख्दै तथ्याङ्कमा आएको परिवर्तनबारे स्पष्टीकरण मागेका थिए ।
रक्षा मन्त्रालयका कार्यवाहक प्रेस सचिव जोएल भाल्डेजले विवरण घटेको देखिनुको कारण प्रणालीमा आएको अस्थायी प्राविधिक समस्या भएको बताएका छन् । यद्यपि, अमेरिकी सञ्चारमाध्यमले प्रणालीमा पटक-पटक तथ्याङ्क परिवर्तन भइरहेको अवस्था प्रत्यक्ष रूपमा देखिएको जनाएको छ ।
यसैबीच, पेन्टागनले ‘विदेशी सैन्य अभियान’ नामक नयाँ अभिलेख श्रेणी पनि थपेको छ, जसमा जुलाई ७ देखि भएका मृत्यु र घाइतेको विवरण राखिएको छ । तर, यो श्रेणीले कुन सैन्य अभियान वा द्वन्द्वसँग सम्बन्धित क्षति हो भन्ने स्पष्ट खुलाएको छैन ।
यस श्रेणीमा समावेश नामावलीमा जोर्डनमा इरानी आक्रमणमा मारिएका तीन अमेरिकी सैनिक तथा उत्तरी इराकमा इरानी मानवरहित हवाई साधन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाएका एक सैनिकको नाम समावेश गरिएको छ ।
उक्त मिति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको द्वन्द्व सुरु भएको भन्दै अमेरिकी संसद्लाई औपचारिक जानकारी गराएको दिनसँग मेल खान्छ । ट्रम्प प्रशासनले अप्रिलमा भएको युद्धविरामका कारण युद्धसम्बन्धी कानुनी समयसीमा पुनः सुरु भएको दाबी गर्दै आएको छ ।









