• २०८३ श्रावण ११ सोमबार

उपायको एक वर्षमै फड्को: कारोवार ५४ प्रतिशतले बढ्यो, १५ सयभन्दा बढीलाई रोजगारी

उपायको एक वर्षमै फड्को: कारोवार ५४ प्रतिशतले बढ्यो, १५ सयभन्दा बढीलाई रोजगारी

काठमाडौं । प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपायले पछिल्लो एक वर्षमा कारोवार ५४ प्रतिशतले वृद्धि गरेको जनाएको छ। कम्पनीले कर्मचारी संख्या, शाखा विस्तार, दैनिक पार्सल वितरण क्षमता तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेकोमा अहिले १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। प्रत्यक्ष रोजगारीसँगै डेलिभरी साझेदार, यातायात सेवा प्रदायक तथा अन्य माध्यमबाट ५ हजारभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको जनाएको छ।

उपायले ४० शाखाबाट विस्तार गर्दै हाल देशभर ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। कम्पनीको सेवा सबै जिल्लासहित ५ हजारभन्दा बढी वितरण केन्द्रसम्म पुगेको छ। दैनिक पार्सल वितरण क्षमता पनि करिब १ हजारबाट बढेर औसत १५ हजार पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कारोवारमा भएको वृद्धि देशव्यापी शाखा विस्तार, ढुवानी सेवाको बढ्दो माग, नयाँ व्यावसायिक ग्राहक थपिनु, भण्डारण तथा पूर्ति व्यवस्थापन सेवाको विस्तार र ई–वाणिज्य बजारको तीव्र वृद्धिका कारण सम्भव भएको हो।

पूर्वाधार विस्तारअन्तर्गत कम्पनीले काभ्रेको साँगामा अत्याधुनिक तेस्रो पक्ष लजिस्टिक्स भण्डारण केन्द्र निर्माण गरिरहेको जनाएको छ। आगामी छ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त केन्द्रबाट भण्डारण, मौज्दात व्यवस्थापन, अर्डर तयारी, प्याकिङ तथा देशव्यापी वितरणलगायतका एकीकृत सेवा उपलब्ध गराइने कम्पनीको भनाइ छ। हाल काठमाडौंको पेप्सीकोलास्थित भण्डारण केन्द्रबाट पनि सेवा सञ्चालन भइरहेको छ।

कम्पनीका पूर्ति व्यवस्थापन विभागका अध्यक्ष सङ्गम पौडेलले नेपाली व्यवसायको आवश्यकता अनुसार आधुनिक लजिस्टिक्स पूर्वाधार निर्माणमा लगानी भइरहेको बताए। उनका अनुसार कम्पनीको उद्देश्य पार्सल वितरणमा मात्र सीमित नभई सम्पूर्ण आपूर्ति शृङ्खलालाई प्रभावकारी बनाउँदै व्यवसायलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउनु हो।

मानव संसाधन सहायक उपाध्यक्ष राजु के.सी.ले कर्मचारी संख्या बढाउनुका साथै दक्ष जनशक्ति उत्पादनमा पनि कम्पनीले जोड दिएको बताए। नियमित तालिम, सुरक्षित कार्य वातावरण र करियर विकासका अवसरमार्फत दीर्घकालीन रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

हाल उपायले ई–वाणिज्य कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, जलविद्युत् आयोजना तथा खुद्रा व्यापारलाई एकीकृत लजिस्टिक्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले आगामी वर्षहरूमा देशव्यापी सञ्जाल विस्तार, थप भण्डारण केन्द्र स्थापना तथा कृत्रिम बुद्धिमत्तामा आधारित आधुनिक लजिस्टिक्स प्रविधिमा थप लगानी गर्ने योजना पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै