• २०८३ श्रावण १२ मंगलबार

साउन १ अघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने

साउन १ अघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ साउन १ गतेअघि खपत भएको विद्युत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट गरेको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै यस विषयमा उपभोक्ता र व्यवसायीबीच देखिएको अन्योल हटाएको हो ।

विभागका अनुसार आर्थिक ऐन, २०८३ ले विद्युत सेवामा अन्तिम उपभोक्ताबाट पाँच प्रतिशत र अन्य उपभोक्ताबाट १३ प्रतिशत मूल्य अभिवृद्धि कर असुल गर्ने व्यवस्था गरेको छ । यो व्यवस्था २०८३ साउन १ गतेदेखि मात्रै लागू भएको हो ।

यसअनुसार २०८३ असार मसान्तसम्म खपत भएको विद्युतको बिल साउन १ वा त्यसपछि जारी भए पनि साउनअघि खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर लाग्ने छैन । उक्त अवधिको विद्युत सेवा कर छुटको व्यवस्थाअन्तर्गत पर्ने विभागले जनाएको छ ।

यस्तै, नेपाल विद्युत प्राधिकरणले स्वीकृत महसुल दरअनुसार लिने न्यूनतम शुल्क तथा माग शुल्क पनि विद्युत सेवाकै हिस्सा भएकाले २०८३ साउन १ गतेदेखि भएको विद्युत खपतमा ती शुल्कमा समेत मूल्य अभिवृद्धि कर लाग्ने विभागले स्पष्ट गरेको छ ।

विभागले विद्युत सेवामा मूल्य अभिवृद्धि करसम्बन्धी विषयमा अब कुनै द्विविधा नराख्न सबै उपभोक्ता तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै