काठमाडौँ । सन्देश आदानप्रदान मञ्च टेलिग्राममाथि कानुनी दबाब थप बढ्दै गएको छ । रुसले संस्थापक पावेल दुरोभलाई अन्तर्राष्ट्रिय खोजी सूचीमा राखेपछि अब अष्ट्रेलियाले पनि मञ्चमा रहेका आतङ्कवादसम्बन्धी सामग्री हटाउन असफल भएको आरोप लगाउँदै कानुनी प्रक्रिया अघि बढाएको छ ।
अष्ट्रेलियाको इन्टरनेट नियामक निकाय ई-सेफ्टी कमिसनरले टेलिग्रामले आतङ्कवादको समर्थन गर्ने भिडियो र सामग्री समयमै हटाउन नसकेको आरोप लगाएको हो । नियामकका अनुसार चरमपन्थी हिंसा, सामूहिक गोलीकाण्ड तथा आतङ्कवादी हमलासँग सम्बन्धित भिडियो लामो समयसम्म मञ्चमा उपलब्ध रहे पनि कम्पनीले आवश्यक कदम चालेन ।
ई-सेफ्टी कमिसनर जुली इनम्यान ग्रान्टले क्राइस्टचर्च र बफेलोमा भएका आतङ्कवादी आक्रमणसँग सम्बन्धित विभत्स सामग्रीबारे टेलिग्रामलाई पहिले नै जानकारी गराइएको भए पनि ती सामग्री हटाउन ढिलाइ भएको बताएका छन् ।
अदालतमा पेश गरिएका कागजातअनुसार सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म अष्ट्रेलियाली प्रयोगकर्ताले आतङ्कवाद समर्थक १२ वटा सामग्रीबारे उजुरी दिएका थिए। तीमध्ये तीन सामग्री प्रत्यक्ष रूपमा चिनिएका आतङ्कवादी प्रचार सामग्री रहेको दाबी गरिएको छ। तर टेलिग्रामले १० वटा सामग्री हटाउने वा सम्बन्धित खाता बन्द गर्ने कुनै प्रभावकारी कदम नचालेको नियामकको आरोप छ ।
यद्यपि टेलिग्रामले सबै आरोप अस्वीकार गर्दै अदालतमा आफ्नो पक्ष मजबुत रूपमा राख्ने जनाएको छ। कम्पनीका अनुसार सन् २०२६ मा मात्रै हजारौँ चरमपन्थी समूह र समुदायमाथि कारबाही गर्दै तिनका खाता बन्द गरिएको छ र आतङ्कवादविरुद्धका आफ्ना प्रयास सार्वजनिक रूपमा अभिलेखित छन् ।
यदि टेलिग्राम अष्ट्रेलियाको सुरक्षा मापदण्ड उल्लङ्घन गरेको ठहरिएमा कम्पनीमाथि ५ करोड ४६ लाख अष्ट्रेलियाली डलरसम्म (करिब ३ करोड ८० लाख अमेरिकी डलर) जरिवाना हुन सक्ने जनाइएको छ ।
यसैबीच, रुसले पनि हालै संस्थापक पावेल दुरोभमाथि आतङ्कवादी गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै आपराधिक मुद्दा दर्ता गरेको छ । रुसका सुरक्षा निकायले युक्रेनी गुप्तचरहरूले रुसभित्र आक्रमणको योजना बनाउन टेलिग्रामको प्रयोग गरिरहेको दाबी गर्दै दुरोभलाई अन्तर्राष्ट्रिय खोजी सूचीमा राखेको जनाएको छ ।
टेलिग्राम विश्वका सबैभन्दा लोकप्रिय सन्देश आदानप्रदान मञ्चमध्ये एक हो। कम्पनीका अनुसार यसका मासिक सक्रिय प्रयोगकर्ता एक अर्बभन्दा बढी छन्। संस्थापक दुरोभले सन् २०१४ मा रुस छाडेका थिए भने सन् २०१७ देखि कम्पनीको सञ्चालन दुबईबाट गर्दै आएका छन्। हाल उनीसँग फ्रान्स र संयुक्त अरब इमिरेट्सको दोहोरो नागरिकता छ ।









