काठमाडौँ । सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गरेका छन् ।
छलफलमा संसदीय समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले भने- 'अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर गर्नुहोस्। कानुन र विधिको पालना गर्दै अनुगमन गर्नुहोस् ।'
सभामुखले सरकारलाई सुझाव तथा सल्लाह दिँदा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यपरक र कार्यान्वयनयोग्य सुझाव दिन आग्रह गरेका थिए ।
सभामुख अर्यालले विधेयकहरूलाई लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गरी समयमै टुंगोमा पुर्याउन आग्रह गरे । साथै, विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरेर आवश्यक परिमार्जनसहित प्रतिनिधिसभामा पेश गर्न पनि उनले सुझाव दिए ।
छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न तथा थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारका उपायबारे सभापति तथा सचिवहरूले पनि आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।









