काठमाडौं । नेदरल्यान्ड्सका विकेटकिपर ब्याट्सम्यान स्कट एडवार्ड्सले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् । नेदरल्यान्ड्स क्रिकेट संघले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमार्फत एडवार्ड्सले कप्तानी छाड्ने निर्णयको घोषणा गरेका हुन् ।
संघका अनुसार बाँकी रहेको विश्वकप क्रिकेट लिग-२ का खेलमा टोलीको कप्तानी अलराउन्डर बास डे लिडेले गर्नेछन् ।
नामिबियाविरुद्धको खेलपछि टोलीलाई सम्बोधन गर्दै एडवार्ड्सले आफू र मुख्य प्रशिक्षक रायन कुकबीच यस विषयमा लामो समयदेखि छलफल भइरहेको बताए । उनले आफूले अब खेलाडीका रूपमा टोलीलाई अझ धेरै योगदान दिन सक्ने महसुस गरेको र त्यसैले यही समय कप्तानी छाड्न उपयुक्त लागेको बताएका छन् ।
एडवार्ड्सले टोलीलाई विशेष समूहको संज्ञा दिँदै आगामी दिनमा नेदरल्यान्ड्स क्रिकेटको भविष्य अझ उज्ज्वल हुने विश्वास व्यक्त गरेका छन् । एडवार्ड्सले सन् २०२२ जुनदेखि नेदरल्यान्ड्सको कप्तानी सम्हालेका थिए । उनको नेतृत्वमा टोलीले ५६ एकदिवसीय अन्तर्राष्ट्रिय र ५० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उनकै कप्तानीमा नेदरल्यान्ड्सले सन् २०२३ को एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
यस्तै, सन् २०२२ को टी-२० विश्वकपमा पनि नेदरल्यान्ड्सले जिम्बाब्वे र दक्षिण अफ्रिकालाई हराउँदै दक्षिण अफ्रिकालाई प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुर्याएको थियो ।
नयाँ कप्तान बनेका डे लिडेले एडवार्ड्सको नेतृत्वको प्रशंसा गर्दै उनले टोलीलाई कठिन प्रतिस्पर्धामा उत्कृष्ट ढंगले नेतृत्व गरेको बताए । उनले एडवार्ड्सले खेलाडीहरूमा आत्मविश्वास जगाउने र प्रत्येक खेलका लागि स्पष्ट योजना प्रस्तुत गर्ने शैलीले आफूलाई अझ राम्रो खेलाडी बन्न प्रेरित गरेको उल्लेख गरेका छन् ।
नेदरल्यान्ड्स हाल विश्वकप क्रिकेट लिग-२ को अंकतालिकामा दोस्रो स्थानमा छ । शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।









