• २०८३ श्रावण १७ आइतबार

मस्कोको इटालियन रेस्टुरेन्टमा बम विस्फोट: तीन जनाको मृत्यु, २१ घाइते

मस्कोको इटालियन रेस्टुरेन्टमा बम विस्फोट: तीन जनाको मृत्यु, २१ घाइते

काठमाडौँ । रुसको राजधानी मस्कोस्थित एक इटालियन रेस्टुरेन्टमा घरेलु रूपमा बनाइएको विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार साँझ करिब ८ बजे सहरको केन्द्रनजिकै रहेको कुद्रिन्स्काया चोकमा उक्त विस्फोट भएको हो ।

राष्ट्रिय आतंकवादविरोधी समितिले विस्फोटक पदार्थ बोकेकी एक महिलाले रेस्टुरेन्टभित्र प्रवेश गर्ने प्रयास गरेकी थिइन् । तर सुरक्षाकर्मीले उनलाई रोकेपछि उनले बोकेको विस्फोटक पदार्थ विस्फोट भएको जनाएको छ ।

विस्फोटमा ती महिलासहित सुरक्षाकर्मी र रेस्टुरेन्टका एक सेवाग्राहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्टालिनकालीन प्रसिद्ध अग्ला भवनमध्ये एकमा रहेको उक्त रेस्टुरेन्टमा त्यसबेला निजी कार्यक्रम आयोजना भइरहेको थियो । अधिकारीहरूले कार्यक्रममा सहभागीहरूको विवरण सार्वजनिक गरेका छैनन् । साथै आक्रमणको लक्ष्य को थियो भन्नेबारे पनि कुनै जानकारी दिएका छैनन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि रगतले लतपतिएका मानिसहरूलाई घटनास्थलबाट बाहिर निकालिएको थियो । सुरुमा विस्फोट रेस्टुरेन्टको भान्सामा भएको खबर आएको भए पनि रेस्टुरेन्टले पछि जारी गरेको विज्ञप्तिमा समस्या भवनबाहिर भएको जनाएको छ ।

घटनापछि कुद्रिन्स्काया चोक वरपरका सडक केही समयका लागि बन्द गरिएको थियो । रुसी सरकारी समाचार संस्थाले सार्वजनिक गरेको दृश्यमा घटनास्थलमा भारी हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको तथा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको देखिएको छ ।

हालैका वर्षहरूमा मस्को र आसपासका क्षेत्रमा रुसी सेनाका उच्च अधिकारीहरूमाथि भएका केही घातक आक्रमणका घटनाका लागि रुसले युक्रेनलाई जिम्मेवार ठहराउँदै आएको छ । तर यस घटनासँग सम्बन्धित कुनै पक्षको संलग्नताबारे अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरिएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै