काठमाडौं । राहदानी ऐन अन्तर्गतको कसूरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार जर्मनी जाने भिसा प्रयोजनका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा यात्रा अनुमति पत्रसहित पुगेका केही व्यक्तिको राष्ट्रियतामाथि शंका उत्पन्न भएपछि सोधपुछ गरिएको थियो । त्यसपछि जर्मन राजदूतावासले २०६८ जेठ २० गते पाँच थान सक्कली यात्रा अनुमति पत्र अनुसन्धान तथा कारबाहीका लागि ब्युरोमा पठाएको थियो ।
उक्त घटनामा राहदानी ऐन अन्तर्गत अनुसन्धान गर्दै जाँदा यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका पुष्पराज भट्टराईको संलग्नता देखिएको प्रहरीले जनाएको छ । हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली प्रवासी समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत छन् ।
ब्युरोले अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत साउन ११ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।
सोही मुद्दामा प्रतिवादी कायम भएका ५६ वर्षीय भट्टराईलाई साउन १८ गते काठमाडौं महानगरपालिका–त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउपछि उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीले जनाएको छ।









