• २०८३ श्रावण १९ मंगलबार

मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण

मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण

विराटनगर । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ । 

विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी  प्रकाश मुदन्डाको घरमा खानतलासी गरिएको घटना बारे एसपी कटवालसंग स्पष्टीकरण सोधिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर प्रश्न उठेकाले लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको थियो, उक्त सूचनाको प्रमाणीकरण कसरी गरिएको थियो र कसको विश्लेषणका आधारमा निर्णय लिइएको थियो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।

उक्त घटनाले विराटनगरका उद्योगी-व्यापारी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक छविमा असर परेको भन्ने विषयमा आफ्नो धारणा पनि पेश गर्न एसपी कटवाललाई निर्देशन दिइएको छ ।

प्रहरीले मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको थियो । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यसमेत रहेका मुन्दडाको निवासमा बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको थियो ।

पाँच घण्टाको खानतलासीपछि प्रहरीले घरबाट कुनै सामग्री फेला नपारे पछि प्रहरीको चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै