• २०८३ श्रावण २० बुधबार

होर्मुज खुल्ने सम्भावनाका बिच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

होर्मुज खुल्ने सम्भावनाका बिच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ । अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।

विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेल पनि पाँच प्रतिशतभन्दा बढी घटेर करिब ७६ अमेरिकी डलरमा कारोबार भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुज  जलडमरूमध्यमार्फत जहाज आवागमन पुनः सुरु गर्ने विषयमा भएको छलफलमा प्रगति भएको बताएका छन् । उनीहरूका अनुसार आवश्यक सहमति भएमा यसै साताभित्र जलमार्ग खुल्न सक्ने सम्भावना रहेको छ । यद्यपि सम्भावित सम्झौताबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन । उता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानमार्फत छलफल भइरहेको जनाएको छ ।

विश्वको दैनिक कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं भाग ओसारपसार हुने होर्मुज जलडमरूमध्य द्वन्द्व सुरु भएपछि अधिकांश समय अवरुद्ध रहँदै आएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब सिर्जना गर्दै तेलको मूल्यमा तीव्र उतारचढाव ल्याएको थियो । पछिल्ला महिनाहरूमा वार्ताको सम्भावना देखिँदा मूल्य घट्ने र तनाव बढ्दा प्रतिव्यारेल १२० अमेरिकी डलरभन्दा माथिसम्म पुग्ने अवस्था देखिएको थियो ।

विश्लेषकहरूले स्थायी सहमति हुनेमा अझै अनिश्चितता रहेको बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल बोक्ने जहाजको सुरक्षा जोखिम अझै उच्च रहेको र यमन नजिकै हालै भारतीय झण्डावाहक जहाज डुबेको घटनाले अवस्था थप संवेदनशील बनेको उनीहरूको भनाइ छ । यसबीच तेलको मूल्यमा आएको वृद्धिले विश्वका धेरै देशमा पेट्रोल र डिजेल महँगिएको छ भने ठूला तेल कम्पनीहरूले उच्च नाफा कमाइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै