काठमाडौँ । इजिप्टका स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको प्रतिष्ठित फुटबल क्लब ट्राब्जोन्स्पोरमा अनुबन्ध हुने भएका छन् । लिभरपुलबाट बाहिरिएपछि अहिले स्वतन्त्र खेलाडीका रूपमा ३४ बर्षिय सलाह ट्राब्जोन्स्पोरमा दुई बर्षका लागि अनुबन्ध भएका हुन् ।
क्लबले सलाह बुधबार इस्तानबुल पुग्ने बताएको छ । त्यसपछि उनी सोही दिन साँझ ट्राब्जोन जानेछन्। क्लबले स्वागत कार्यक्रमको समय र अन्य विवरण आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गर्ने जनाएको छ ।
‘ब्ल्याक सी स्टर्म’ उपनामले चिनिने ट्राब्जोन्स्पोर टर्कीको सफल क्लबमध्ये एक हो । क्लबले हालसम्म सात पटक लिग उपाधि जितेको छ, जसमध्ये छ उपाधि सन् १९७६ देखि १९८४ बीचमा जितेको थियो । सन् २०२२ मा ३८ वर्षपछि पुनः लिग उपाधि जित्दै क्लबले ऐतिहासिक सफलता हासिल गरेको थियो । उत्तरपूर्वी टर्कीको ट्राब्जोन सहरमा रहेको यो क्लब टर्कीको शीर्ष लिग जित्ने केवल छ क्लबमध्ये एक हो ।
सलाह सन् २०१७ को जुनमा रोमा क्लबबाट लिभरपुल पुगेका थिए । नौ वर्षको बसाइमा उनले लिभरपुललाई दुई पटक इङ्ग्लिस प्रिमियर लिग, एक पटक युरोपेली च्याम्पियन्स लिग, क्लब विश्वकप, युरोपेली सुपर कप, एक पटक एफए कप, दुई पटक इङ्ग्लिस लिग कप र कम्युनिटी शिल्ड जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
लिभरपुलका लागि उनले ४४२ खेलमा २५७ गोल गरेका थिए भने १२० गोलमा अवसर सिर्जना गरेका थिए । साथै उनले चार पटक प्रिमियर लिगको सर्वाधिक गोलकर्ता पुरस्कार जितेका थिए भने सन् २०१८, २०२२ र २०२५ मा व्यावसायिक फुटबल खेलाडी सङ्घको वर्ष उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
सलाह सन् २०२६ को विश्वकपमा इजिप्टको टोलीबाट खेलेका थिए । इजिप्ट अन्तिम १६ सम्म पुगे पनि त्यस चरणमा उपविजेता बनेको अर्जेन्टिनासँग ३-२ गोलले पराजित भएको थियो ।









