काठमाडौँ । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले यसै महिनाभित्र स्टारसिपको १४औँ परीक्षण उडान गर्ने तयारी गरेको छ । अगस्ट सकिनुअघि हुने यो परीक्षणमा पहिलोपटक स्टारसिपको माथिल्लो भाग ‘सिप’लाई प्रक्षेपण टावरमा जडित विशाल यान्त्रिक ‘चपस्टिक’ हातमार्फत हावामै समात्ने प्रयास गरिनेछ ।
यदि यो परीक्षण सफल भएमा पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल हुने र भविष्यका अन्तरिक्ष अभियानको लागत तथा समय दुवै उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ । स्टारसिप दुई भागमा बनेको हुन्छ । माथिल्लो भागमा अन्तरिक्षयान ‘सिप’ र तल्लो भागमा ‘सुपर हेभी’ बुस्टर हुन्छ । दुवै जोडिएको प्रणालीको उचाइ ४०३ फिट रहेको छ भने सिपको मात्र लम्बाइ १७१ फिट छ ।
दक्षिण टेक्सासस्थित प्रक्षेपण केन्द्रका दुई विशाल टावरमा रहेका ‘चपस्टिक’ हातहरू हालसम्म रकेट संयोजनका लागि प्रयोग हुँदै आएका थिए । अब भने उडान पूरा गरी फर्किने स्टारसिपलाई यही प्रविधिबाट हावामै समात्ने तयारी गरिएको हो ।
स्पेसएक्सले यसअघि तीन फरक परीक्षण उडानमा बुस्टरलाई सफलतापूर्वक टावरबाट समातिसकेको छ । तर स्टारसिपको माथिल्लो भागलाई यसरी समात्ने प्रयास भने पहिलोपटक हुन लागेको हो । त्यसैले यो परीक्षणलाई विश्वभरका अन्तरिक्ष विज्ञहरूले चासोका साथ हेरिरहेका छन् ।
१४औँ परीक्षण उडानमा नयाँ पुस्ताका स्टारलिङ्क ‘भि–३’ उपग्रहहरू पनि अन्तरिक्षमा पठाइनेछन्। यी उपग्रह हाल सञ्चालनमा रहेका स्टारलिङ्क उपग्रहभन्दा ठूला र बढी क्षमता भएका बताइएको छ ।
यसअघि जुलाई २४ मा सम्पन्न १३औँ परीक्षण उडानमा २० वटा स्टारलिङ्क ‘भि–३’ उपग्रह उपकक्षीय परीक्षणका रूपमा पठाइएको थियो । अब ती उपग्रहलाई सञ्चालनयोग्य कक्षामा स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
१३औँ परीक्षण उडान स्पेसएक्सका लागि सफल मानिएको थियो । उक्त उडानपछि स्टारसिपलाई हिन्द महासागरमा अवतरण गराइएको थियो । मस्कका अनुसार पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा स्टारसिपको ताप सुरक्षा कवच पूर्ण रूपमा सुरक्षित रहेको थियो । यही सफलतापछि कम्पनीले १४औँ उडानमा थप जोखिमपूर्ण परीक्षण गर्ने निर्णय गरेको हो ।
स्पेसएक्सको हालैको वित्तीय विवरण सार्वजनिक कार्यक्रममा मस्कले ताप सुरक्षा कवचसम्बन्धी समस्या लगभग समाधान भइसकेको दाबी गरेका छन् । उनले सबै योजना अनुसार अघि बढे आगामी एक वर्षभित्र कम्पनी दैनिक कम्तीमा एउटा स्टारसिप प्रक्षेपण गर्न सक्ने अवस्थामा पुग्ने र भविष्यमा यो संख्या अझ बढ्न सक्ने बताएका छन् ।
अन्तरिक्षयान पृथ्वीको वायुमण्डलमा फर्कँदा हावासँग हुने तीव्र घर्षणका कारण बाहिरी सतहमा हजारौँ डिग्री सेल्सियससम्म तापक्रम पुग्न सक्छ । यस्तो अवस्थामा ताप सुरक्षा कवचले अत्यधिक तापबाट अन्तरिक्षयानलाई जोगाउछ । विशेष तापरोधी पदार्थबाट बनेको यो कवचले भित्रका उपकरण र संरचनालाई सुरक्षित राख्ने भएकाले स्टारसिपलाई पटक–पटक प्रयोग गर्ने स्पेसएक्सको योजनामा यसको सफलतापूर्वक सुरक्षित रहनु अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।









