काठमाडौँ । भारतका कप्तान शुभमन गिल दायाँ हातको औँलामा लागेको चोटका कारण श्रीलङ्काविरुद्धको तीनदिने अभ्यास खेलको पहिलो दिन मैदानबाहिर रहेका छन् । उनको अनुपस्थितिमा उपकप्तान केएल राहुलले टोलीको नेतृत्व गरेका छन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले गिलको स्वास्थ्य अवस्थामाथि चिकित्सक टोलीले निगरानी गरिरहेको जनाएको छ । उनी दोस्रो वा तेस्रो दिन खेल्नेबारे निर्णय पछि गरिने बोर्डले जानकारी दिएको छ ।
यसैबीच, भारतका प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराह घुँडाको समस्याका कारण दुई टेस्टको शृंखलाबाट बाहिरिसकेका छन् । साथै हर्षित राणा, नितीश कुमार रेड्डी र वासिङ्टन सुन्दर पनि चोटका कारण टोलीबाहिर छन् ।
भारत र श्रीलङ्काबीचको पहिलो टेस्ट अगस्ट १५ देखि गालमा तथा दोस्रो टेस्ट अगस्ट २३ देखि कोलम्बोमा हुने तालिका छ ।









