• २०८३ श्रावण २२ शुक्रबार

गोलीकाण्डपछि थाइल्यान्डमा हतियार नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याउने तयारी

गोलीकाण्डपछि थाइल्यान्डमा हतियार नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याउने तयारी

काठमाडौँ । थाइल्यान्ड सरकारले पछिल्लो विद्यालय गोलीकाण्डपछि हतियार नियन्त्रणसम्बन्धी नयाँ कानुन ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री अनुतिन चर्नविराकुलले सर्वसाधारणले हतियार बोकेर हिँड्न पाउने व्यवस्थामा कडाइ गर्ने गरी नयाँ कानुन ल्याइने बताएका छन् ।

प्रधानमन्त्री अनुतिनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रस्तावित कानुनअनुसार ड्युटीमा खटिएका सरकारी अधिकारीबाहेक अन्य व्यक्तिले हतियार बोक्न नपाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

उनले नयाँ कानुनबारे विस्तृत विवरण सार्वजनिक नगरे पनि हतियार राख्ने अनुमति प्रक्रियामा कडाइ गरिने संकेत गरेका छन् । थाइल्यान्डमा नागरिकसँग कानुनी तथा गैरकानुनी दुवै माध्यमबाट ठूलो संख्यामा हतियार रहेको र दक्षिण-पूर्वी एसियामै नागरिक हतियार स्वामित्व उच्च रहेको बताइन्छ ।

प्रहरीका अनुसार पछिल्लो घटनामा १४ वर्षीय एक किशोरले आफ्नै हजुरबुबाको नाममा रहेको ९ एमएम पेस्तोल प्रयोग गरी घरमै हजुरआमा र हजुरबुबाको हत्या गरेका थिए । त्यसपछि उनले स्थानीय समयअनुसार बिहान १० बजेपछि आफू अध्ययनरत बैंकक नजिकैको डेब्सिरिन विद्यालयमा पुगेर गोली चलाएका थिए । घटनामा पाँच जना शिक्षकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली चलाउने किशोरले पछि आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनामा कम्तीमा ३० जना घाइते भएका छन् भने नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रधानमन्त्री अनुतिनले आक्रमण निकै योजनाबद्ध रहेको र आक्रमणकारीसँग अझै ३० भन्दा बढी गोली बाँकी रहेको अवस्थामा आत्महत्या गरेको बताए । उनले समयमै नियन्त्रण नभएको भए थप ठूलो क्षति हुन सक्ने उल्लेख गरे ।

घटनाबाट बचेका विद्यार्थीहरूले आफूहरूले निकै भयावह अवस्था सामना गर्नुपरेको बताएका छन् । एक विद्यार्थीले आफ्नै अगाडि एक शिक्षकलाई गोली लागेको देखेपछि आफू पर्खाल नाघेर भागेको बताएकी छन् ।

घटनापछि थाइल्यान्डमा हतियार नियन्त्रणसम्बन्धी बहस पुनः सुरु भएको छ । राजनीतिक दल तथा सरोकारवालाहरूले देशको हतियारसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । थाइल्यान्डमा पछिल्ला केही वर्षमा भएका ठूला गोलीकाण्डले पनि हतियार नियन्त्रणको विषयलाई पटक–पटक बहसमा ल्याउँदै आएको छ । 

२०२६ मै हाट याई सहर नजिकैको एक विद्यालयमा भएको घटनामा प्रधानाध्यापक र एक विद्यार्थी घाइते भएका थिए । दुई घण्टासम्म चलेको तनावपछि प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको थियो । २०२५ मा बैंककस्थित ओर टोर कोर बजारमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको थियो । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए । प्रहरीले बजारका सुरक्षा कर्मचारीसँगको विवादपछि घटना भएको जनाएको थियो । 

त्यसअघि  २०२३ मा बैंककको एक व्यापारिक केन्द्रमा १४ वर्षीय किशोरले गोली चलाउँदा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । त्यसैगरी २०२२ मा उत्तरपूर्वी थाइल्यान्डमा पूर्वप्रहरीले बाल हेरचाह केन्द्रमा आक्रमण गर्दा २३ बालबालिकासहित ३७ जनाको मृत्यु भएको थियो। पछि प्रहरीले उनलाई कारबाही गरेको थियो । सन् २०२० मा नाखोन रात्चासिमा सहरमा एक सैनिकले गोली चलाउँदा २६ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका थिए। उनले आफ्ना कमान्डरको हत्या गरी सैनिक शिविरबाट हतियार लिएर आक्रमण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै