काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।
प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो । प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए ।
यसअघि प्रधानमत्री शाहले विदेशी राजदुत र उच्च अधिकारीहरुलाई भेट्न अस्वीकार गर्दै आएका थिए ।









