काठमाडौँ । भारतीय अभिनेता, गायक तथा सांसद रवि किशन पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा लगातार चर्चामा छन् । उनका पुराना अभिव्यक्ति, गीतका अंश, चलचित्रका दृश्य र सार्वजनिक कार्यक्रममा देखिएको फरक शैली फेरि चर्चामा आएपछि उनलाई सामाजिक सञ्जालमा ‘भाइरल म्यान’ भन्न थालिएको छ ।
रवि किशनका केही अभिव्यक्ति यस्ता छन्, जसले मानिसलाई हँसाउनेदेखि अचम्मित बनाउनेसम्म गरेका छन् । ‘मरेपछि आफ्नै चिता जल्दा आनन्द आउन सक्छ ?’, ‘कपडा पनि दूरनियन्त्रणबाट उठाउन सकिन्छ ?’, ‘नामको पछि लागे पैसा आफैँ दौडिएर आउँछ’, ‘मुखले बोलेर पनि मौन व्रत बस्न सकिन्छ ?’ जस्ता उनका अभिव्यक्ति अहिले फेरि सामाजिक सञ्जालमा व्यापक रूपमा 'मिम' बनेर फैलिएका छन् ।
आफ्ना अभिव्यक्ति र हाउभाउका कारण आफू चर्चामा आउने गरेको विषयमा रवि किशनले आफूले जानाजान त्यस्तो नगर्ने बताएका छन् । उनका अनुसार मानिसलाई उनको बोल्ने र प्रस्तुत हुने शैली मन पर्छ ।
हालैको एक अन्तर्वार्तामा उनले अहिले आफूलाई भारतकै ‘भाइरल मानिस’, ‘राष्ट्रिय आकर्षण’ र ‘बिहारको ब्राड पिट’ भन्नेसम्मका प्रतिक्रिया आउने गरेको बताएका थिए । आफ्ना बारेमा बनेका धेरै हास्य सामग्री आफूले रमाइलोका रूपमा लिने गरेको उनको भनाइ थियो ।
रवि किशनका केही पुराना सार्वजनिक अभिव्यक्ति अहिले फेरि चर्चामा आएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सार्वजनिक कार्यक्रममा भएका उनका संवाद पनि पटक–पटक सामाजिक सञ्जालमा फैलिने गरेका छन् ।
सन् २०२१ फेब्रुअरीमा गोरखपुरमा आयोजित कार्यक्रममा नयाँ शवदाह गृहबारे बोल्दै रवि किशनले त्यहाँ मानिसको अन्तिम संस्कार हुँदा स्वर्ग जाने र विद्युतीय शवदाह गृह भएकाले छिट्टै जल्ने भन्दै रमाइलो शैलीमा अभिव्यक्ति दिएका थिए । उनको यस्तो अभिव्यक्ति सुनेपछि मञ्चमै रहेका योगी आदित्यनाथ खुलेर हाँसेका थिए । पछि रवि किशनले उक्त घटनाबारे बोल्दै योगी आदित्यनाथको आँखाबाट आँसु नै आएको र आफ्नो कुरा सुनेर उनी निकै हाँसेको बताएका थिए ।
पछि एक हास्य कार्यक्रम तथा अन्तर्वार्तामा उनले आफूलाई शवदाह गृहबारे बोल्न भनिएपछि त्यस विषयमा कसरी भाषण गर्ने भन्ने नबुझेका कारण त्यस्तो शैलीमा बोलेको बताएका थिए । आफ्नो भनाइको उद्देश्य उक्त स्थान पवित्र रहेको बताउनु मात्र भएको उनको स्पष्टीकरण थियो ।
रवि किशनको अर्को चर्चित अभिव्यक्ति पैसा र पहिचानसँग सम्बन्धित छ । एक अन्तर्वार्तामा उनलाई पहिचान महत्वपूर्ण हो कि पैसा भनेर सोधिएको थियो । जवाफमा उनले पहिचानलाई प्राथमिकता दिँदै नामको पछि लागे पैसा आफैँ दौडिएर आउने बताएका थिए । यही अभिव्यक्तिलाई अहिले सामाजिक सञ्जालमा विभिन्न हास्य सामग्रीसँग जोडेर प्रस्तुत गर्ने गरिएको छ ।
त्यस्तै, केही दिनअघि संसद् भवनबाहिर उनले ‘आज पण्डितजीले हामीलाई मौन रहन भन्नुभएको छ’ भन्ने शैलीमा दिएको अभिव्यक्ति पनि सामाजिक सञ्जालमा चर्चित भयो । रवि किशन भोजपुरी चलचित्र र गीतका कारण पनि लामो समयदेखि चर्चामा छन् । उनले गाएका तथा अभिनय गरेका केही गीतका शब्दलाई लिएर आलोचना पनि हुँदै आएको छ ।
‘लहंगा उठा दे रिमोट से’ बोलको गीत पनि त्यसमध्ये एक हो । सन् २०२३ मा एक चर्चित टेलिभिजन कार्यक्रममा यसबारे बोल्दै रवि किशनले उक्त गीतका लागि सार्वजनिक रूपमा कान समातेर माफी मागेका थिए । उनले आफूले त्यो गीत जानाजान नगाएको दाबी गरेका थिए । त्यसबेला आफू लगातार धेरै काममा व्यस्त रहेको र एउटा कामबाट अर्को काममा जाँदा गाडीमै सुत्ने गरेको उल्लेख गर्दै उनले गीतका विषयमा पर्याप्त तयारी नगरी प्रस्तुति दिएको बताएका थिए ।
सन् २०२२ मा जनसङ्ख्या नियन्त्रणसम्बन्धी कानुनबारे एक टेलिभिजन कार्यक्रममा छलफल हुँदा रवि किशनका चार सन्तान रहेको विषय उठेको थियो । त्यस क्रममा उनले आफूले जीवनमा संघर्ष गरेको र काममा व्यस्त रहँदा सन्तान बढ्दै गएको बताएका थिए । आफ्नी श्रीमतीको गर्भावस्थापछि शरीरमा आएको परिवर्तन देख्दा आफूलाई दुःख लागेको समेत उनले बताएका थिए ।
जनसङ्ख्या नियन्त्रणसम्बन्धी कानुन पहिले नै आएको भए आफूहरू पनि सन्तानको संख्या बढाउने विषयमा रोकिएर सोच्ने उनको भनाइ थियो । रवि किशन केवल राजनीतिक गतिविधिमा मात्र सीमित छैनन् । पछिल्ला वर्षमा उनले चलचित्र तथा विभिन्न धारावाहिकमा गरेका भूमिका दर्शकले रुचाएका छन् ।
‘लापता लेडिज’ र ‘मामला लिगल है’ जस्ता चर्चित चलचित्र तथा धारावाहिकमा उनको अभिनयले प्रशंसा पाएको छ । उनको प्रारम्भिक चर्चित चलचित्रमध्ये सलमान खान अभिनीत ‘तेरे नाम’ पनि पर्छ। उक्त चलचित्रमा उनले रामेश्वरको भूमिका निर्वाह गरेका थिए । उनी भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘बिग बोस’को पहिलो संस्करणमा समेत सहभागी भएका थिए। त्यस समय उनले जीवन, अहंकार र सफलताबारे बोलेका केही कुरा अहिले पनि सामाजिक सञ्जालमा उद्धृत हुने गरेका छन् ।
रवि किशनको चलचित्र यात्रा निकै संघर्षपूर्ण रहेको बताइन्छ । उत्तर प्रदेशको जौनपुर जिल्लाको केराकत क्षेत्रको एउटा गाउँमा जन्मिएका उनको पूरा नाम रवि किशन शुक्ला हो । बाल्यकालमा रामलीलामा सीताको भूमिका खेलेको भन्दै उनका पुरोहित बुबाले उनलाई थप्पड हानेको प्रसंग पनि उनको जीवनसँग जोडिएको छ । पछि उनले काशी हिन्दू विश्वविद्यालयमा अध्ययन गरे र अभिनयतर्फ आकर्षित भए ।
सन् १९९२ मा आएको ‘पीताम्बर’ चलचित्रबाट उनको अभिनय यात्रा सुरु भएको थियो। प्रारम्भिक करिब एक दशक उनको चलचित्र यात्रा सहज थिएन। त्यसपछि भोजपुरी चलचित्रमा सक्रिय हुँदै उनले आफ्नो छुट्टै पहिचान बनाए । उनले अहिलेसम्म करिब १५० चलचित्र तथा धारावाहिकमा काम गरिसकेको बताइन्छ । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र प्रतियोगितात्मक कार्यक्रममा पनि उनी सहभागी हुँदै आएका छन् ।
सन् १९९६ मा ‘आर्मी’ चलचित्रमा काम गरिरहेका बेला भोजपुरी भाषालाई हेपेर गरिएको टिप्पणीले आफूलाई निकै चोट पुगेको रवि किशनले बताउने गरेका छन् । त्यसपछि आफ्नो भाषा र भोजपुरी चलचित्रका लागि केही गर्ने अठोट गरेको उनको भनाइ छ ।
रवि किशनको राजनीतिक यात्रा सन् २०१४ मा सुरु भएको थियो । उनले कांग्रेस पार्टीको तर्फबाट जौनपुरबाट लोकसभा निर्वाचन लडेका थिए, तर पराजित भए । सन् २०१७ मा उनी भारतीय जनता पार्टीमा प्रवेश गरे । त्यही वर्ष योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्री बने । सन् २०१९ को लोकसभा निर्वाचनमा रवि किशन भारतीय जनता पार्टीको तर्फबाट गोरखपुरबाट विजयी हुँदै संसद् पुगे । गोरखपुरलाई योगी आदित्यनाथको राजनीतिक प्रभाव भएको क्षेत्रका रूपमा लिइन्छ । सन् २०२४ को निर्वाचनमा पनि उनी विजयी भएका थिए ।
रवि किशनको चर्चा केवल राजनीतिक अभिव्यक्तिका कारण मात्र हुने गरेको छैन । उनको बोल्ने शैली, हाउभाउ, चलचित्रमा निर्वाह गरेका फरक भूमिका, भोजपुरी गीत तथा सार्वजनिक कार्यक्रममा दिने असामान्य अभिव्यक्तिले उनलाई अरूभन्दा फरक बनाएको देखिन्छ । उनका पुराना अभिव्यक्ति वर्षौँपछि फेरि सामाजिक सञ्जालमा फैलिने गरेका छन् । नयाँ पुस्ताले ती पुराना भिडियो तथा संवादलाई नयाँ हास्य शैलीमा प्रस्तुत गर्दा उनको चर्चा झन् बढ्ने गरेको छ । यसरी हेर्दा रवि किशन अहिले एकैपटक राजनीतिज्ञ, अभिनेता, गायक र सामाजिक सञ्जालमा निरन्तर चर्चामा रहने व्यक्तित्व बनेका छन् । उनी स्वयंले पनि मानिसले आफ्नो शैली मन पराउने भएकाले आफू बारम्बार भाइरल हुने गरेको बताउँदै आएका छन् । पछिल्ला घटनाक्रमले भने उनलाई राजनीतिभन्दा बाहिर पनि निरन्तर चर्चामा राखेको छ ।









