• २०८३ श्रावण २६ मंगलबार

आइपिएल खेलाडी अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ

आइपिएल खेलाडी अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ । भारतीय क्रिकेटका खेलाडी तथा आइपिएल टिम दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याटर अभिषेक पोरेललाई बलात्कारको आरोपमा पश्चिम बंगालको हुगली प्रहरीले पक्राउ गरेको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार पोरेलमाथि विवाह गर्ने आश्वासन दिएर एक महिलासँग यौन सम्बन्ध राखेको आरोप छ । हुगली ग्रामीणका प्रहरी अधीक्षक कुँवर भूषण सिंहले मुद्दा दर्ता भइसकेको र पक्राउका लागि अदालतको आदेश रहेकाले उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । 

एक महिला चिकित्सा विद्यार्थीले गत जुन २३ मा मोघरा प्रहरी चौकीमा पोरेलविरुद्ध उजुरी दिएकी थिइन् । उजुरीमा आफूहरू करिब साढे तीन वर्षदेखि सम्बन्धमा रहेको र विवाह गर्ने योजना बनाएको दाबी गरिएको छ ।

प्रहरीका अनुसार मोघरा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा भारतीय न्याय संहिताका विभिन्न धारासहित सूचना प्रविधि कानुनका सम्बन्धित धाराअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

पोरेलले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै त्यसलाई झुटो बताएका छन् । पोरेल सन् २०२३ देखि भारतीय क्रिकेटको प्रमुख घरेलु प्रतियोगितामा खेल्दै आएका छन् । उनले हालसम्म ३५ खेलमा ७६९ रन बनाएका छन् । उनी बंगाल क्रिकेट टोलीका प्रमुख खेलाडीमध्ये एक हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै