• २०८३ श्रावण २७ बुधबार

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

काठमाडौँ । आज विश्वका केही भागबाट सूर्यग्रहण देखिने भएको छ । पृथ्वीको केही क्षेत्रमा पूर्ण सूर्यग्रहण देखिनेछ भने अन्य स्थानमा आंशिक सूर्यग्रहण देखिनेछ । प्रत्यक्ष अवलोकन गर्न नपाउनेहरूले पनि विश्वका विभिन्न स्थानबाट खिचिएका ग्रहणका तस्बिर तथा दृश्य हेर्न सक्नेछन् ।

सूर्यग्रहण त्यतिबेला हुन्छ, जब चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट गुज्रिँदा सूर्यको केही वा सम्पूर्ण प्रकाश पृथ्वीसम्म पुग्न रोक्छ । आफू पृथ्वीको कुन भागमा हुनुहुन्छ र ग्रहणका बेला चन्द्रमा पृथ्वीबाट कति टाढा छ भन्ने आधारमा देखिने ग्रहणको प्रकार फरक हुन्छ ।

सूर्य, चन्द्रमा र पृथ्वी एकै सीधामा आउँदा चन्द्रमाले सूर्यको सम्पूर्ण गोलाकार सतह ढाक्छ । त्यसलाई पूर्ण सूर्यग्रहण भनिन्छ। यस्तो अवस्थामा दिनको समयमा पनि आकाश बिहान हुनुअघि वा साँझ पर्न लाग्दाको जस्तो अँध्यारो देखिन सक्छ । पूर्ण ग्रहण त्यही क्षेत्रमा मात्र देखिन्छ, जहाँ चन्द्रमाको गहिरो छायाँ पर्ने भाग पुगेको हुन्छ । यसलाई ‘उम्ब्रा’ भनिन्छ ।

पूर्ण सूर्यग्रहणका बेला कहिलेकाहीँ सूर्यको वरिपरि चम्किलो घेरा पनि देखिन्छ । यो सूर्यको बाहिरी वायुमण्डल हो, जसलाई ‘कोरोना’ भनिन्छ । सामान्य अवस्थामा सूर्यको अत्यधिक चमकका कारण यो देखिँदैन । चन्द्रमाको बाहिरी छायाँ पर्ने क्षेत्रमा भने आंशिक सूर्यग्रहण देखिन्छ । यस अवस्थामा चन्द्रमाले सूर्यको केही भाग मात्र ढाक्छ र सूर्य अर्धचन्द्राकार जस्तो देखिन्छ । चन्द्रमा सूर्यको अगाडि आए पनि पृथ्वीबाट धेरै टाढा भएको अवस्थामा सूर्यलाई पूर्ण रूपमा ढाक्न सक्दैन। यस्तो ग्रहणलाई वलयाकार सूर्यग्रहण भनिन्छ ।

चन्द्रमाको कक्षा पूर्ण गोलाकार नभई अण्डाकार हुन्छ । त्यसैले चन्द्रमा पृथ्वीबाट सबैभन्दा टाढाको दूरीतर्फ रहेका बेला सूर्यको अगाडि आउँदा तुलनात्मक रूपमा सानो देखिन्छ । त्यस्तो अवस्थामा चन्द्रमाले सूर्यको बीचको भाग ढाके पनि वरिपरि सूर्यको चम्किलो गोलाकार किनारा देखिइरहन्छ । सूर्यग्रहण र चन्द्रग्रहण भने फरक खगोलीय घटना हुन् । चन्द्रग्रहणमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र पृथ्वीको छायाँ चन्द्रमामा पर्छ ।

आज सूर्यग्रहण १५: ३५ ग्रीनविच समयदेखि उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागमा पूर्ण सूर्यग्रहणका रूपमा देखिनेछ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सूर्य पूर्ण रूपमा ढाकिने ग्रहणको मुख्य चरण उत्तरी रुसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसो देखिनेछ । त्यसपछि ग्रहणको छायाँ पृथ्वीमा पूर्वतर्फ सर्दै स्थानीय समयअनुसार साँझतिर स्पेन पुग्नेछ । त्यहाँ सूर्यास्त हुनुभन्दा केही समयअघि पूर्ण ग्रहण देखिनेछ ।

तर पूर्ण सूर्यग्रहणको अवधि निकै छोटो हुनेछ । पूर्ण ग्रहणको चरण अढाई मिनेटभन्दा कम समय रहनेछ । उत्तरी अमेरिकाका उत्तरी भाग, क्यानडा, उत्तरपश्चिमी अफ्रिका तथा युरोपका धेरै क्षेत्रमा आंशिक सूर्यग्रहण देखिनेछ । केही स्थानमा सूर्यको ९० प्रतिशत वा त्योभन्दा बढी भाग चन्द्रमाले ढाक्नेछ । अफ्रिका तथा युरोपको मुख्य भूभागका केही स्थानमा भने ग्रहण अझ विशेष देखिनेछ । त्यहाँ सूर्यास्तको समयमा पनि ग्रहण जारी रहनेछ । अर्थात् सूर्य क्षितिजमा अस्ताउँदै गर्दा सूर्यको केही भाग चन्द्रमाले ढाकिएको अवस्थामा देखिनेछ । यो सुर्यग्रहण नेपाल र दक्षिण एशियाका क्षेत्रबाट भने देखिने छैन । 

सूर्यग्रहणलाई प्रत्यक्ष आँखाले हेर्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । सामान्य घामबाट जोगाउने चस्मा लगाए पनि सूर्यतर्फ सीधा हेर्नु हुँदैन । सामान्य चस्माले आँखालाई आवश्यक सुरक्षा दिँदैन। सूर्यको तीव्र प्रकाशले आँखाको दृष्टिपटलमा स्थायी क्षति पुर्‍याउन सक्छ ।

सूर्यग्रहण हेर्न अन्तर्राष्ट्रिय मानकअनुसारका विशेष ग्रहण चस्मा मात्र प्रयोग गर्नुपर्छ । यस्ता चस्मा सामान्य घामका चस्माभन्दा हजारौँ गुणा गाढा हुन्छन् । प्रयोग गरिने चस्मा आईएसओ १२३१२–२ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनुपर्नेछ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले ग्रहण चस्मा लगाएको अवस्थामा समेत क्यामेराको लेन्स, दूरबिन, द्विनेत्री वा अन्य प्रकाशीय उपकरणबाट सूर्यलाई सीधा नहेर्न सुझाव दिएको छ । यस्ता उपकरणले सूर्यको प्रकाशलाई केन्द्रित गर्दा फिल्टरबाट समेत तीव्र किरण पार हुन सक्ने र आँखामा गम्भीर क्षति पुग्न सक्ने जोखिम हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै