• २०८३ श्रावण २८ बिहीबार

आर्कटिकमा तनाव बढ्ने पुटिनको चेतावनी

आर्कटिकमा तनाव बढ्ने पुटिनको चेतावनी

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक क्षेत्रमा बढ्दो तनावप्रति चेतावनी दिँदै उत्तरी समुद्री मार्गमा भारतसहित विभिन्न देशको चासो बढिरहेको बताएका छन् ।

प्रशान्त बेडाका सैनिकसँगको भेटमा पुटिनले चीन, भारतलगायत देश रुससँग उत्तरी समुद्री मार्गमा सहकार्यका विषयमा सक्रिय छलफलमा रहेको बताए । उनले भारतलाई यस मार्गमा बढ्दो चासो राख्ने प्रमुख देशमध्ये एकका रूपमा उल्लेख गरेका छन् ।

उत्तरी समुद्री मार्ग आर्कटिक क्षेत्र हुँदै जाने समुद्री बाटो हो । रुसले लामो समयदेखि यसको व्यापारिक सम्भावना बढाउने प्रयास गर्दै आएको छ । पुटिनले अन्तर्राष्ट्रिय समुद्री कानुनको दायराभित्र रहेर यस मार्गको उपयोगबाट फाइदा लिन रुस तयार रहेको बताएका छन् ।

रुसमाथि पश्चिमी देशले लगाएका प्रतिबन्धका कारण वैकल्पिक व्यापारिक मार्ग र नयाँ साझेदारको खोजी तीव्र बनेको छ । यही क्रममा उत्तरी समुद्री मार्गलाई एसियाली देशसँग व्यापार र समुद्री सम्पर्क विस्तार गर्ने महत्वपूर्ण विकल्पका रूपमा रुसले अघि बढाइरहेको छ ।

पुटिनले आर्कटिक क्षेत्रमा बढिरहेको ‘कृत्रिम तनाव’प्रति पनि चेतावनी दिएका छन् । उनले बाह्य देशका गतिविधि र उत्तर एटलान्टिक सन्धि संगठनको विस्तारका कारण आर्कटिकमा तनाव बढाउन खोजिएको दाबी गरे । रुसका लागि आर्कटिक क्षेत्र प्राकृतिक स्रोत, समुद्री मार्ग र सुरक्षा दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

यसैबीच रुसको समुद्री व्यापारमा पश्चिमी प्रतिबन्धको दबाब पनि बढिरहेको छ । रुसी तेल निर्यातमा प्रयोग हुने र प्रतिबन्ध छल्न प्रयोग गरिएको आरोप लागेका जहाजको समूहलाई ‘छाया जहाजी बेडा’ भनिन्छ । यस्ता जहाजमाथि युरोपेली देशले निगरानी र कारबाही बढाएका छन् ।

पुटिनले रुसी व्यापारिक जहाज कब्जा गरिए रुसले त्यसको जवाफ दिने चेतावनीसमेत दिएका छन् । उनले यस्तो कार्यलाई समुद्री डकैती र लुटपाटको संज्ञा दिँदै रुसको जवाफ जहाज रोकिएको क्षेत्रमै सीमित नहुने बताएका छन् ।

आर्कटिकमा जलवायु परिवर्तनका कारण समुद्री मार्गको उपयोगको सम्भावना बढ्दै गएको छ । प्राकृतिक स्रोत, व्यापारिक मार्ग र सैन्य रणनीतिक महत्वका कारण रुस, चीन, भारत तथा पश्चिमी देशबीच यस क्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्ने देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै