काठमाडौँ । नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्वप्रशिक्षक तथा स्पेनका पूर्वस्टार खेलाडी जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
निराशाजनक विश्वकपपछि रोनाल्ड कोएम्यानको बहिर्गमनसँगै ४६ वर्षीय जाभीलाई चार वर्षका लागि जिम्मेवारी दिइएको हो ।
जाभीले सन् २०२४ मा बार्सिलोनाको प्रशिक्षक पद छाडेपछि दुई वर्षपछि प्रशिक्षणमा पुनरागमन गरेका हुन् । उनले नेदरल्यान्ड्सलाई सन् २०२८ को युरोपियन च्याम्पियनसिप र सन् २०३० को विश्वकपसम्म प्रशिक्षण दिनेछन् ।
जाभीले नेदरल्यान्ड्सको आक्रामक, बल नियन्त्रणमा आधारित र सिर्जनात्मक खेलशैली आफूलाई मनपर्ने बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु ठूलो सम्मान भएको बताएका छन् ।
खेलाडीका रूपमा स्पेनसँग सन् २०१० को विश्वकप तथा सन् २००८ र २०१२ को युरोपियन च्याम्पियनसिप जितेका जाभीले प्रशिक्षकका रूपमा कतारको अल साद र बार्सिलोनामा काम गरिसकेका छन् । बार्सिलोनालाई उनले सन् २०२२-२३ को स्पेनी ला लिगा उपाधि र सन् २०२३ को स्पेनी सुपर कप जिताएका थिए ।









