• २०८३ श्रावण २९ शुक्रबार

दुर्गा प्रसाईको अपिल- दल दर्ता गर्न केहि समय धैर्य गरौँ

दुर्गा प्रसाईको अपिल- दल दर्ता गर्न केहि समय धैर्य गरौँ

काठमाडौँ । डा. धवलशमशेर राणाको नेतृत्वमा दर्ता गर्ने तयारी गरिएको ‘जय नेपाल पार्टी’प्रति दुर्गा प्रसाईँले असहमति जनाएका छन् । प्रसाईँले आफूहरूसँग सहकार्य गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका नेता तथा अभियानमा संलग्न साथीहरूलाई सम्बोधन गर्दै छुट्टै राजनीतिक दल निर्माणको तयारी भइरहेको बताएका छन् ।

प्रसाईँले २००४ सालदेखि २०८२ सालसम्म नेपालमा राजनीतिक दल दर्ता गर्ने र नेता बन्ने काम भए पनि गरिबीको रेखामुनि रहेका सर्वहारा, भुइँमान्छे, उत्पीडित, भूमिहीन तथा सुकुम्बासी नागरिकको अवस्था परिवर्तन हुन नसकेको दाबी गरेका छन् ।

उनले लघुवित्त, सहकारी, बैंक तथा मिटरब्याजको चर्को ब्याजमा परेर घरबार गुमाएका नागरिक सडक पेटी र खोला किनारमा अव्यवस्थित रूपमा बस्न बाध्य भएको उल्लेख गरेका छन् । उनका अनुसार कुनै पनि राजनीतिक दल ती नागरिकको वास्तविक पार्टी बन्न नसकेकाले आफूहरू नागरिकका मुद्दा बोकेर अघि बढेको बताएका छन् ।

प्रसाईँले आफूहरूले राजालाई साक्षी राखेर पानसमा दियो बाल्दै र शान्तिको प्रतीक परेवा उडाएर नागरिकका मुद्दा लिएर अभियान अघि बढाएको बताएका छन् ।

उनले अब गठन हुने आफ्नो पार्टी सबै नेपाली नागरिक, जातजाति र धर्मको साझा पार्टी हुने दाबी गरेका छन् । वैदिक सनातन हिन्दु अधिराज्यसहितको पार्टी निर्माण गरिने र देशका पीडित, शोषित तथा उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि पार्टी समर्पित हुने उनको भनाइ छ ।

प्रसाईँले अभियानमा जोडिएका नेता तथा कार्यकर्तालाई केही समय धैर्य गर्न आग्रह गर्दै आफूहरूको पार्टी छिट्टै सार्वजनिक हुने बताएका छन् ।

राप्रपा छोडेका राणा पक्षले भने आज निर्वाचन आयोगमा जयनेपाल पार्टी दर्ता गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै