• २०८३ भदौ २ मंगलबार

घुस प्रकरणमा कर अधिकृत र लेखापरीक्षकविरुद्ध मुद्दा दायर

घुस प्रकरणमा कर अधिकृत र लेखापरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एमएस पाल र घुस रकमको बार्गेनिङमा संलग्न रहेको आरोपमा चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानमा कार्यरत कर अधिकृत पालले आर्थिक वर्ष २०७८/७९ को कर लेखापरीक्षणका क्रममा सेवाग्राहीले पेस गरेका कागजात नमिलेको भन्दै काम रोकिदिने र मिलाउनुपर्ने भन्दै पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

उजुरीका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले पाललाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा पालले विभिन्न व्यवसायिक तथा औद्योगिक फर्म तथा कम्पनीको लेखापरीक्षण र कर निर्धारण गरी कर फर्छ्योट गर्ने क्रममा सेवाग्राहीका बिल–बिजक नमिलेको भन्दै रकम माग्ने गरेको खुलेको आयोगले जनाएको छ ।

आयोगका अनुसार पालसँग मिलेमतोमा रहेका चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवले सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी पाललाई पाँच लाख रुपैयाँ घुस लिन लगाएको तथा सेवाग्राहीलाई घुस दिन दुरुत्साहन गरेको देखिएको छ ।

आयोगले पालविरुद्ध पाँच लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरेको छ । यादवविरुद्ध पनि सोही ऐनबमोजिम कैद तथा बिगो बराबर जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै