काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ वटा अर्थात् ८५.८२ प्रतिशत उजुरी फर्छ्यौट गरेको छ ।
जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशतले बढी हो । केन्द्रका अनुसार विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा अर्थात ७४.१० प्रतिशत उजुरी फर्छ्यौट भएका थिए ।
सतर्कता केन्द्रले कार्यालय अनुगमन र कारबाहीको दायरालाई निकै कडा र व्यापक बनाएको बताएको छ । वि.सं. २०८१ चैतदेखि २०८२ साउनसम्मको अवधिमा जम्मा ३१८ वटा कार्यालयहरूको अनुगमन गरिएकोमा आचार संहिता पालना नगर्ने तथा समय पालना नगरेका २ हजार २१३ जना र तोकिएको पोशाक नलगाएका ५६२ जना गरी कुल २ हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेका पाइएको थियो ।
तर, गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यालयहरूको संख्यामा झन्डै तीन गुणाले वृद्धि गरी ९२४ पुर्याइएको छ । जसमा आचारसंहिता र समय पालना नगरेका १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारीहरू कारबाहीमा परेका छन् । सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने यी सबै कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायहरूलाई कडा निर्देशन दिएको छ ।
सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा संकास्पद सम्पत्ति रहेको सूचना केन्द्रको हटलाइन नं ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिन्छ ।









