• २०८३ भदौ ७ आइतबार

आज दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइदै

आज दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । हरेक वर्ष अगस्ट २३ मा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । दास व्यापारका कारण मानव समाजले भोग्नुपरेको पीडा र त्यसविरुद्ध भएका संघर्षलाई स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ ।

सन् १७९१ अगस्ट २२ देखि २३ सम्मको रात हालको हाइटी गणतन्त्रमा पर्ने सेन्ट डोमिङ्गोमा भएको विद्रोहको सुरुवातले अन्तरमहादेशीय दास व्यापार अन्त्य गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

यही ऐतिहासिक घटनाको स्मरणमा दास व्यापार तथा यसको उन्मूलनको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । यो दिवस पहिलोपटक विभिन्न देशमा मनाइएको थियो । हाइटीमा सन् १९९८ अगस्ट २३ मा तथा सेनेगलको गोरे टापुमा सन् १९९९ अगस्ट २३ मा विशेष रूपमा मनाइएको थियो ।

यस दिवसको मुख्य उद्देश्य दास व्यापारका कारण भएको मानवीय त्रासदीलाई विश्वका सबै समुदायको सामूहिक स्मृतिमा सुरक्षित राख्नु हो ।

दास बनाइएका मानिसहरूको यात्रासम्बन्धी अन्तरसांस्कृतिक अभियानका उद्देश्यअनुसार यो दिवसले दास व्यापारको ऐतिहासिक कारण, त्यसका लागि अपनाइएका तरिका र त्यसबाट उत्पन्न परिणामबारे सामूहिक रूपमा विचार गर्ने अवसर प्रदान गर्छ ।

यसका साथै अफ्रिका, युरोप, अमेरिका र क्यारिबियन क्षेत्रबीच दास व्यापारका कारण विकसित भएका सम्बन्ध, प्रभाव र अन्तरसम्बन्धबारे अध्ययन तथा समीक्षा गर्ने अवसरसमेत यस दिवसले प्रदान गर्छ ।

दास व्यापार मानव इतिहासको गम्भीर मानवीय त्रासदीका रूपमा स्मरण गरिँदै आएको छ। यसको स्मरणले मानव स्वतन्त्रता, समानता र सम्मानको महत्वलाई उजागर गर्नुका साथै यस्ता अमानवीय घटना पुनः दोहोरिन नदिन चेतना फैलाउने उद्देश्य राख्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै