काठमाडौँ । विश्वका ठुला प्रविधि कम्पनि एप्पल र ओपनएआईबीच व्यापारिक गोपनीयता अर्थात् कम्पनीका गोप्य जानकारीको कथित दुरुपयोगलाई लिएर चलिरहेको कानुनी विवाद थप गहिरिँदै गएको छ । एप्पलले अमेरिकी अदालतसमक्ष ओपनएआईले दायर गरेको मुद्दा प्रारम्भिक चरणमै खारेज गर्नुपर्ने माग अस्वीकार गर्न आग्रह गरेको छ । यस मुद्दाको अर्को सुनुवाइ आगामी अक्टोबर १ मा हुने भएको छ ।
एप्पलले अदालतमा बुझाएको पछिल्लो निवेदनमा ओपनएआईले मुद्दा प्रारम्भिक चरणमै खारेज गर्न गरेको मागको विरोध गरेको छ । एप्पलका अनुसार ओपनएआईको दाबी तथ्यलाई गलत रूपमा प्रस्तुत गर्ने, बाह्य प्रमाणको अनुचित प्रयोग गर्ने र अनुमानमा आधारित रहेको छ । एप्पलले यसअघि लगाएका आरोपलाई पनि दोहोर्याउँदै व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोग भएको प्रमाण आफूसँग रहेको दाबी गरेको छ । एप्पलले ओपनएआईले त्यस्तो गतिविधिलाई प्रोत्साहनसमेत गरेको आरोप लगाएको छ ।
एप्पलले ओपनएआईसँग सम्बन्धित व्यक्तिहरूले आफ्ना केही कर्मचारीलाई कम्पनीको गोप्य जानकारी प्राप्त गर्ने तरिकाबारे निर्देशन दिएको आरोप लगाएको छ । एप्पलका अनुसार यो विषय सामान्य गल्ती वा अनजानमा भएका घटनामा मात्र सीमित नरहेको र मुद्दालाई अघि बढाउन पर्याप्त तथ्य र प्रमाण रहेको कम्पनीको दाबी छ । एपलले व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोगबारे थप अनुसन्धान अघि बढाउनुपर्ने आधार रहेको जनाएको छ ।
एप्पलले ओपनएआईविरुद्ध व्यापारिक गोप्य जानकारीको कथित दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि अगस्ट ५, २०२६ मा ओपनएआईले अदालतमा मुद्दा खारेज गर्न माग गर्दै निवेदन दिएको थियो ।
ओपनएआईले आफूलाई एप्पलको स्वामित्वमा रहेका गोप्य जानकारी आवश्यक नरहेको दाबी गरेको थियो । साथै, एप्पलले आफूलाई प्रभावकारी रूपमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थाको आरोप लगाएको तर्कसमेत ओपनएआईले गरेको थियो । एप्पलले भने यी दाबी अस्वीकार गरेको छ । कम्पनीका अनुसार ओपनएआईले गम्भीर आरोपलाई सामान्य गल्ती वा अनजानमा भएका घटनाका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ, जबकि मुद्दा अघि बढाउन पर्याप्त आधार र प्रमाण उपलब्ध छन् ।
यस मुद्दामा अर्को महत्वपूर्ण सुनुवाइ अक्टोबर १, २०२६ मा हुने भएको छ। अमेरिकी जिल्ला अदालतका न्यायाधीश एडवर्ड जे. डाभिलाले त्यस दिन ओपनएआईको मुद्दा खारेज गर्ने मागमाथि दुवै पक्षका तर्क सुन्नेछन् । त्यसअघि ओपनएआईले एपलको विरोधमा आफ्नो जवाफ अगस्ट २६, २०२६ सम्म अदालतमा बुझाउनुपर्नेछ । त्यसैले आगामी दिनमा दुवै कम्पनीका थप तर्क र कागजात अदालतमा प्रस्तुत हुने सम्भावना छ ।
जानकारहरूका अनुसार न्यायाधीशले ओपनएआईको मुद्दा खारेज गर्ने माग अस्वीकार गरेमा यो मुद्दा प्रमाण तथा कागजात संकलनको चरणमा प्रवेश गर्न सक्छ । त्यस क्रममा दुवै कम्पनीले एकअर्कासँग मुद्दासँग सम्बन्धित कागजात, प्रमाण, कुराकानी तथा अन्य आवश्यक जानकारी माग गर्न सक्नेछन् । यस प्रक्रियामा ओपनएआईका उपकरणसम्बन्धी परियोजना, एपलका पूर्वकर्मचारीको नियुक्ति तथा ती कर्मचारीसँग आएको जानकारीसँग सम्बन्धित अभिलेखसमेत अनुसन्धानको दायरामा पर्न सक्नेछन् ।









