काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघबीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन सहजीकरण, व्यापार तथा उद्योगको विकास, उद्यमशीलता प्रवद्र्धन र स्वदेशी तथा गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य विस्तार गरिनेछ ।
दुवै संस्थाले लगानी सम्मेलन, व्यापारिक शिखर सम्मेलन, व्यवसायिक कार्यक्रम तथा प्रचारात्मक कार्यक्रम आयोजना गरी विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र नेपाली व्यवसायीबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्नेछन् । निर्यातमुखी उद्योग, साना तथा मझौला उद्यम र नयाँ व्यवसायलाई सहयोग गर्ने तथा तालिम, कार्यशाला र गोष्ठीमार्फत क्षमता अभिवृद्धि गर्ने सहमति पनि भएको छ ।
चेम्बर अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि राम्रो नीति मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। नीति तथा कानुनी संरचनामा स्थिरता र स्पष्टता नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ता पूर्ण रूपमा विश्वस्त हुन नसक्ने भन्दै उनले लगानी सुरक्षा, राजनीतिक स्थिरता र सहज व्यावसायिक वातावरण निर्माणमा सरकार तथा निजी क्षेत्रको संयुक्त पहल आवश्यक रहेको बताए ।
उनले विदेशमा रहेका नेपालीको पूँजी, ज्ञान, सीप र व्यावसायिक अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिए । सूचना प्रविधि, पर्यटन, उत्पादनमूलक उद्योग र व्यापारलगायत क्षेत्रमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने उनको भनाइ थियो। समझदारी कागजमा मात्र सीमित नभई लगानी, व्यापार, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणमा ठोस परिणाम दिने गरी कार्यान्वयन हुनुपर्ने उनले बताए ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शर्माले विश्वका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीको पूँजी, ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्नु संघको प्राथमिकता रहेको बताए । विदेशमा रहेका नेपालीसँग पूँजीसँगै प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक व्यावसायिक सञ्जाल रहेकाले त्यसलाई नेपालमा उपयोग गर्न व्यावहारिक पहल आवश्यक रहेको उनले बताए ।
नेपालमा लगानी गर्न खोज्दा कानुनी, प्रशासनिक तथा प्रक्रियागत जटिलता अझै रहेको उल्लेख गर्दै शर्माले लगानीको वातावरण सरल, सुरक्षित र विश्वसनीय बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा नयाँ व्यवसायका क्षेत्रमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने उनले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन सरकारले कानुनी तथा प्रक्रियागत जटिलता हटाउनुपर्ने बताए । एउटै परियोजनाका लागि विभिन्न निकाय धाउनुपर्ने, प्रक्रिया लामो हुने तथा नीतिगत अस्थिरता रहने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।
समझदारी पाँच वर्षसम्म कायम रहने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । दुवै पक्षले आवश्यकताअनुसार संयुक्त परियोजनाका लागि बाह्य वित्तीय स्रोतसमेत जुटाउन सक्नेछन् । समझदारीले गैरआवासीय नेपाली समुदायको पूँजी, ज्ञान, प्रविधि र व्यावसायिक सञ्जाललाई नेपालको लगानी, उत्पादन, व्यापार विस्तार तथा आर्थिक विकाससँग जोड्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।









