काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सञ्जाल काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
फोरमको मंगलबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेट गरेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गाको व्यवस्थालगायत विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले २०८३ भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत आपत्ति जनाएको छ । उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ ।
फोरमले यसअघि पनि काठमाडौं महानगरपालिकाको प्रमुख रहँदादेखि नै प्रधानमन्त्री शाहलाई उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै आएको थियो । तत्कालीन सरकार र नेप वेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरेर फोहोर व्यवस्थापनको नयाँ बाटो खोल्ने विषयमा समेत फोरममा छलफल हुँदै आएको जनाइएको छ ।
उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले बताएका छन् । फोरमले फोहोर व्यवस्थापनको समस्या तत्कालीन रूपमा मात्र नभई दीर्घकालीन रूपमा समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।









