काठमाडौँ । रसुवामा बुधबार बिहान आएको आकस्मिक भोटेकोशी बाढीपछि ३८४ जना यात्रु सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले बुधबार जारी गरेको प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन् ।
सम्पर्कविहीन विदेशी नागरिकमध्ये १०५ जना भारतीय, १७ जना मलेसियाली, ३ जना अमेरिकी, १२ जना बेलायती र ४ जना दक्षिण अफ्रिकी नागरिक रहेका छन् । अन्य यात्रुको राष्ट्रियता पहिचान हुन बाँकी रहेको बोर्डले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका यात्रुहरू विभिन्न यात्रा तथा पर्यटन संस्थामार्फत भ्रमणमा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । बोर्डले प्रभावित क्षेत्रमा रहेका यात्रुको अवस्थाबारे थप विवरण संकलन तथा समन्वय भइरहेको जनाएको छ ।









