काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने भएको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १२ गतेको निर्णयअनुसार पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिनेछ ।
निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका शिक्षक/कर्मचारीबाट ७ दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट ५ दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिनेछ ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको हो ।









