• २०८३ भदौ १५ सोमबार

रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ ।

रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो संख्यामा ट्रक तथा कन्टेनर बगाएको छ । बाढीका कारण चार सयभन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले जानकारी दिए । 

उनले बाढीमा बेपत्ता भएका अधिकांश गाडीका चालक र सहचालकसमेत अहिलेसम्म सम्पर्कमा आउन नसकेको बताए ।  विभिन्न स्थानमा खोजी तथा उद्धारको काम जारी रहे पनि ठूलो संख्यामा चालक तथा सहचालकको अवस्था अझै अज्ञात रहेको उनले बताए । उनले भने,‘थाहा भएअनुसार करिब चारसय गाडी र हाम्रा कन्टेनरहरू अहिले बेपत्ता अवस्थामा छन्। त्यसका चालक, सहचालकहरू पूरै सम्पर्कविहीन भइरहनुभएको अवस्था छ । अहिलेसम्म खोजतलास गरिरहेका छौँ। राज्य पनि लागिरहेको छ ।’

बाढी आएको पाँच–छ दिन बितिसक्दा पनि धेरै चालक तथा सहचालक सम्पर्कविहीन रहेको भन्दै सापकोटाले उनीहरू जीवित भेटिने सम्भावनाप्रति आफू निकै निराश भइसकेको बताए । टिमुरेबाट भाग्न सफल भएका केही चालक सम्पर्कमा आएपनि अन्य धेरैको अवस्था पत्ता लाग्न नसकेको उनको भनाइ छ । ‘मंैले आजसम्मको दिनमा एक–दुई जना मात्रै चालकहरू, टिमुरेबाट भाग्न सफल भएका चालकहरू भेटेँ, अरू कोही पनि भेटिएको अवस्था छैन,’ उनले भने।

विवरण संकलनमै कठिनाइ

बाढीले ठूलो क्षेत्रमा क्षति पु¥याएकाले त्यस समयमा कुन गाडी केरुङ प्रवेश गरिसकेको थियो, कति सडकमै थिए, कति भन्सार यार्डमा थिए र कति गाडी भन्सार प्रक्रिया पूरा गरेर फर्किँदै थिए भन्ने यकिन विवरण संकलन गर्न कठिन भएको सापकोटाले बताए । विभिन्न ट्रक तथा कन्टेनर व्यवसायी संघसंस्थासँग समन्वय गरेर अहिले गाडीको विवरण संकलन भइरहेको छ । हिमाल सीमापार उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ तथा ट्रक कन्टेनर व्यवसायी महासंघलगायत संस्थासँग मिलेर तथ्यांक संकलन भइरहेको उनले बताए ।

उनका अनुसार अहिलेसम्म दुईदेखि तीन सयसम्म गाडीको प्रारम्भिक सूची तयार भइसकेको छ । तर सबै गाडी एउटै संस्थामा आबद्ध नभएकाले विवरण एकीकृत गर्न थप समय लागिरहेको छ । ‘सबै कन्टेनर हामीसँग मात्रै दर्ता भएका छैनन् । कोही नारायणी संघ, कोही बल्खु संघमा दर्ता भएका पनि छन् । कोही टिपर संघमा आबद्ध छन्। त्यसैले अहिले सबै विवरण एकीकृत गर्न कठिन भइरहेको छ,’ सापकोटाले भने।

स्याफ्रुबेँसीमा ४५ र रोङ्गामा ३५ गाडी बगेको दाबी

बाढीको समयमा स्याफ्रुबेँसी आसपास ठूलो संख्यामा गाडी रहेको व्यवसायीहरूको भनाइ छ । सापकोटाका अनुसार स्याफ्रुबेँसीमा मात्रै करिब ४५ वटा गाडी रहेको र बाढी आएको समयमा ती गाडी हटाउने प्रयास गर्दागर्दै बगाएको जानकारी आफूले पाएको बताए । उनका अनुसार त्यस क्षेत्रमा रहेका गाडीका चालकहरूलाई तत्काल सुरक्षित स्थानमा जाने पर्याप्त समयसमेत मिलेन ।

उनले भने,‘स्याफ्रुबेँसीमा ४५ वटा गाडी थियो रे, बाढी आयो भन्ने थाहा पाएपछि गाडी हटाउन खोज्दा पनि समय नै भएन । सबै गाडी रेडी बनाएर भाग्न खोज्दाखोज्दै भाग्न पाएनौँ भन्ने एक जना चालकले भन्नुभएको छ ।’  त्यस्तै, स्याफ्रुबेँसीभन्दा माथि रोङ्गा क्षेत्रमा पालैपालो पार्किङ गरेर राखिएका करिब ३५ वटा गाडीसमेत बाढीले बगाएको जानकारी आएको उनले बताए ।

भन्सार गरेर फर्किँदै गरेका गाडीसमेत फसे

बाढीका कारण भन्सार प्रक्रिया पूरा गरिसकेका गाडीसमेत प्रभावित भएको सापकोटाको भनाइ छ । भन्सार तिरेर प्रज्ञापनपत्र निकालिसकेका तथा चीनबाट सामान बोकेर फर्किएका गाडीहरू जोखिम क्षेत्रमा रोकिँदा ठूलो क्षति भएको उनले बताए । उनका अनुसार भन्सार क्षेत्रमा मात्रै ठूलो संख्यामा गाडी रहेको थियो। करिब ७० देखि ८० वटा गाडी भन्सार प्रक्रिया पूरा गरेर बाहिरिने क्रममा रहेको र तीमध्ये धेरै गाडी बाढीमा परेको उनले बताए।

‘भन्सार तिरेर पैसा बुझाइसकेका ७०–८० वटा गाडी निस्किने बेलामा नै त्यहाँ परे । दैनिक करोडौँ राजस्व उठ्ने नाकामा राजस्व तिरेका गाडीहरू नै यस्तो अवस्थामा परेका छन्,’ सापकोटाले भने। उनले रातको समयमा सडकमा गाडी आवागमनमा लगाइएको रोकले पनि जोखिम बढाएको हुनसक्ने विषयमा राज्यले समीक्षा गर्नुपर्ने बताए । भन्सार क्षेत्रबाट गाडीलाई केही तलसम्म सुरक्षित रूपमा आउन दिएको भए क्षति कम गर्न सकिने अवस्था हुनसक्ने उनको भनाइ छ।

‘रातभरि आउन दिएको भए, धुञ्चेसम्म आउन दिएको भए वा कालिकास्थानमा आएर रोकिदिएको भए पनि त्यहाँका गाडी सुरक्षित हुनेथिए कि, विपतको बेलामा झन् विपत् हुने अवस्था किन बन्यो भन्ने कुरा पनि अब हेर्नुपर्छ,’ उनले भने । 

व्यापारीको सामानमा पनि करोडौँको क्षति

ट्रक तथा कन्टेनरमा भएको क्षतिसँगै त्यसमा लोड भएका व्यापारीका सामानमा समेत ठूलो क्षति पुगेको सापकोटाले बताए । विशेषगरी चाडपर्व नजिकिएका बेला चीनबाट ठूलो मूल्यका सामान नेपाल ल्याइँदै गरेकाले व्यापारीको क्षति अझ ठूलो हुनसक्ने उनको भनाइ छ । उनले भने,‘एउटा गाडीमा लगभग करोडभन्दा माथिको सामान बोकेर आएको अवस्था थियो । त्यसले गर्दा व्यापारीहरू पनि ठूलो क्षतिमा हुनुहुन्छ। माथिबाट आएको गाडी मात्रै डेढ सयजति गाडी भन्सार नभएको यार्डमा थियो भन्ने आएको छ ।’ 

उनका अनुसार पारिपट्टि रहेका करिब ८३ वटा गाडी, भन्सार प्रक्रिया पूरा गरेर रहेका ७१–७२ वटा तथा बाटोमा रहेका अन्य गाडीसमेत बाढीबाट प्रभावित भएको प्रारम्भिक जानकारी आएको छ।

गाडीको मूल्य मात्रै करोडौँ, वास्तविक क्षतिको विवरण आउन बाँकी

बाढीमा परेका गाडीको मूल्यका आधारमा मात्रै पनि क्षति निकै ठूलो रहेको सापकोटाले बताए । नयाँ कन्टेनर तथा ट्रकको मूल्य ८०–९० लाख रुपैयाँसम्म पर्ने र पुराना गाडीको मूल्य पनि ३०–३५ लाख रुपैयाँदेखि ५०–६० लाख रुपैयाँसम्म पर्ने उनले बताए । तर कुन मोडेलको कति बगेको हो भन्ने यकिन विवरण तयार नभएकाले अहिले नै कुल आर्थिक क्षतिको रकम घोषणा गर्न नसकिने उनको भनाइ छ ।

‘नयाँ गाडीको च्यासिस किन्नुप¥यो भने ९० लाखभन्दा माथि परेको छ। पुराना गाडी ३०–३५ लाख पर्ने छन् । १० चक्के ५७–५८ लाख पर्ने छन्। कुनको कति पर्यो, पुरानो कति पर्यो भन्ने अहिले एकिन गर्न सक्ने अवस्था छैन,’ सापकोटाले भने।

बीमाबाट क्षतिपूर्ति पाउने विषयमा व्यवसायीको चासो

बाढीमा परेका तथा त्यसमा संलग्न चालक–सहचालकको बीमासम्बन्धी विवरणसमेत व्यवसायीहरूले संकलन गरिरहेका छन् । धेरैजसो गाडीको कुनै न कुनै प्रकारको बीमा रहेको भए पनि सबैको बीमा समान प्रकृतिको नभएको सापकोटाले बताए । कतिपय व्यवसायीले थर्ड पार्टी बीमा मात्रै गरेका कारण प्रत्यक्ष क्षतिपूर्ति पाउन कठिन हुनसक्ने उनले बताए । तर चालक तथा सहचालकका लागि लागू हुने बीमा व्यवस्थाअनुसार परिवारले पाउनुपर्ने रकम तथा सुविधा उपलब्ध गराउनुपर्ने उनको माग छ ।

शव पहिचानमा पनि समस्या

बाढीपछि विभिन्न स्थानमा शव भेटिए पनि धेरै शवको पहिचान हुन नसकेको सापकोटाले बताए । व्यवसायी तथा परिवारका सदस्यहरूले विभिन्न ठाउँमा टोली परिचालन गरेर शव पहिचानको प्रयास गरिरहेका छन् । उनका अनुसार आफ्ना मजदुर तथा चालकहरूमध्ये केहीको मात्रै पहिचान भएको छ भने कतिपयको अन्त्येष्टिसमेत भइसकेको छ ।

‘हाम्रा मजदुरको लास चिनिने भनेको तीन–चार जनाको मात्रै अवस्थामा छ । दुई जनाको त उहाँहरूले आफैँ बुझिसक्नुभएको छ । बाह्रबिसे–७ र भोटेकोशी–३ का व्यक्तिको दाहसंस्कारसमेत भइसकेको अवस्था छ,’सापकोटाले भने । शवलाई भेटिएको अवस्थामै व्यवस्थित रूपमा उठाएर पहिचान तथा सनाखतको प्रक्रिया अघि बढाउन राज्यले थप ध्यान दिनुपर्ने उनले बताए ।

राज्यसँग तथ्यांक र क्षतिपूर्तिको माग

सापकोटाका अनुसार व्यवसायीहरूले अहिले सबैभन्दा पहिले बेपत्ता भएका चालक, सहचालक तथा मजदुरको विवरण संकलन गरिरहेका छन्। त्यससँगै क्षतिग्रस्त तथा बेपत्ता गाडीको नम्बर, सम्बन्धित व्यवसायी, बीमाको अवस्था र अन्य विवरणसमेत तयार पारिँदै छ । उनले राज्यले व्यवसायीका संघसंस्थासँग समन्वय गरेर आधिकारिक तथ्यांक तयार गर्नुपर्ने बताए । विभिन्न संस्थामा आबद्ध गाडीको विवरण एकीकृत गरेर मात्रै वास्तविक क्षतिको तथ्यांक निकाल्न सकिने उनको भनाइ छ ।

उनका अनुसार गाडीको संख्या प्रारम्भिक अनुमानभन्दा अझ बढ्न सक्ने सम्भावना छ । हाल चार–पाँच सय गाडी क्षतिमा परेको अनुमान गरिए पनि विवरण संकलनपछि यो संख्या पाँच सय वा छ सयसम्म पुग्नसक्ने उनले बताए।

कूटनीतिक पहल आवश्यक

बाढीपछि चीनको केरुङतर्फ रहेका नेपाली कन्टेनरको अवस्थालाई लिएर पनि व्यवसायीहरू चिन्तित छन् । सापकोटाका अनुसार केही गाडी सामान लोड गरेर चीनमै सुरक्षित अवस्थामा रहेका छन् भने केही गाडी नेपालतर्फ आउन नपाई उतै रोकिएका छन् । उनका अनुसार करिब २० वटा सामान लोड भएका र सिल गरिएका गाडी केरुङमै सुरक्षित रहेको जानकारी आएको छ । त्यस्तै, करिब १५५ वटा गाडी सामान लोड गर्नका लागि केरुङतर्फ जाने तयारीमा रहेको अवस्थामा बाढीका कारण आवागमन प्रभावित भएको उनले बताए ।

त्यहाँ रहेका नेपाली व्यवसायीका गाडी तथा सामान सुरक्षित राख्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने सापकोटाको माग छ ।

‘हामी अहिले ठूलो क्षतिको भुमरीमा छौँ’

बाढीका कारण यातायात व्यवसायसँगै ठूलो संख्यामा मजदुर तथा उनीहरूका परिवारसमेत प्रभावित भएको सापकोटाले बताए। आफ्नै क्षेत्रका मात्रै करिब ७३ जना मानिस प्रभावित भएको प्रारम्भिक जानकारी आएको र सिन्धुपाल्चोक, काभ्रे, सिन्धुलीलगायत जिल्लाबाट समेत चालक तथा सहचालक प्रभावित भएको विवरण आउन थालेको उनले बताए । उनका अनुसार सबैभन्दा ठूलो चुनौती अहिले क्षतिको वास्तविक तथ्यांक तयार गर्नु र बेपत्ता व्यक्तिको खोजी गर्नु हो ।

‘हामी ठूलो क्षतिको भुमरीमा छौँ। अहिले ठ्याक्कै नसकिने अवस्था छ । मजदुर, व्यवसायी र सहचालक साथीहरूको खोजीमा छु । इन्स्योरेन्सलाई पनि सबै कुरा डिटेलमा पु¥याउनुपर्ने हुन्छ। कहाँ–कहाँ के–के भयो, त्यो सबै तथ्यांक चाहिन्छ,’उनले सुनाए । उनले आफू अहिले विभिन्न संघसंस्था तथा राज्यका निकायसँग समन्वय गरेर तथ्यांक संकलनमा केन्द्रित रहेको बताए । गाडी नम्बर, चालक–सहचालकको विवरण, बीमाको अवस्था तथा क्षतिको प्रकृति प्रमाणित गरेर सरकार र बीमा कम्पनीलाई उपलब्ध गराउने तयारी भइरहेको उनले बताए ।

सापकोटाले विपद्को समयमा राज्यले व्यवसायीका संघसंस्थासँग प्रत्यक्ष समन्वय गरेर उद्धार, शव पहिचान, क्षतिको मूल्यांकन र क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग गरे । रसुवाको बाढीले मानवीय क्षतिसँगै सीमापार व्यापार र ढुवानी क्षेत्रमा समेत ठूलो असर पारेको छ । बेपत्ता गाडी तथा मानिसको यकिन विवरण आउन बाँकी रहेकाले आगामी दिनमा क्षतिको वास्तविक आकार अझ ठूलो देखिनसक्ने व्यवसायीहरूको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै