• २०८३ भदौ १५ सोमबार

भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५८३ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५८३ अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि हालसम्म ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सोमबार साँझसम्मको विवरणअनुसार ५ जना विदेशी नागरिक सम्पर्कमा आएका छन् भने ५८३ जना अझै सम्पर्कविहीन छन् ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । जसअनुसार भारतका १८७ जना, चीनका १०८ जना, जर्मनी र माल्टाका ४-४ जना, इटाली, रुस, टर्की, अमेरिकाका २-२ जना तथा बुल्गेरिया, ओमान, पोर्चुगल र स्वीजरल्याण्डका एक एक जनाको उद्धार गरिएको बोर्डले जनाएको छ । त्यस्तै सम्पर्कमा आएका ५ जनामध्ये स्पेनका ३, अमेरिकाका १ र बेल्जियमका १ जना रहेका छन् ।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विदेशी नागरिक तथा पर्यटकको खोजी, उद्धार र सहयोगका लागि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले समन्वयमा काम गरिरहेका छन् ।

यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडकको केही भाग बगाएपछि काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध रहेको बोर्डले जनाएको छ ।

पर्यटन बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाबाहेक देशका अन्य क्षेत्रमा पर्यटकीय गतिविधि तथा सडक सञ्जाल सञ्चालनमा रहेको जनाएको छ । प्रभावित क्षेत्रमा यात्रा गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्था बुझ्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पर्यटकलाई आग्रह गरिएको छ ।

आपत्कालीन सहयोगका लागि नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन नम्बर ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै