• २०८३ भदौ १६ मंगलबार

र्यापर बादशाहको विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद

र्यापर बादशाहको विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद

काठमाडौँ । भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् । 

उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए । विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो ।

बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्- 'मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ-आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ । यो निर्णय आपसी सम्मानका साथ लिइएको हो । यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गर्दछौँ ।'

उनले आफूहरूको सम्बन्धबारे थप अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । साथै, यस विषयमा यही नै उनीहरूको अन्तिम भनाइ हुने बताएका छन् । 

बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए । उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन् । दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो ।

बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको थियो । त्यसपछि उनीहरूबीच नजिकिँदै गएर प्रेम सम्बन्ध सुरु भएको थियो । दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । सन् २०२३ मा उनीहरूको विवाहको हल्ला चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए । 

बादशाह बलिवुडसहितको संगीत क्षेत्रमा चर्चित छन् भने ईशा रिखी मोडल तथा अभिनेत्री हुन् । चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै