काठमाडौँ । बलिवुड अभिनेता इमरान हाशमीले बक्स अफिसमा शानदार कमब्याक गरेका छन् । लगातार पछिल्ला फिल्म असफल भइरहेको बेला इमरान अभिनीत ‘आवारापन २’ ले भारतीय बक्स अफिसमा सय करोड कमाई गरेको छ ।
‘आवारापन २’ ले प्रदर्शनको पहिलो दिन २२ करोड भारु कमाएको थियो। दोस्रो दिन ३३ करोड ७५ लाख, तेस्रो दिन २६ करोड, चौथो दिन ९ करोड २५ लाख र पाँचौँ दिन ९ करोड ७५ लाख भारु कमाएको छ। यससँगै फिल्मको भारतमा कुल खुद कमाइ एक सय करोड ७५ लाख भारु पुगेको छ ।
नितिन कक्कडको निर्देशनमा बनेको फिल्ममा इमरान हाशमीसँगै दिशा पटानी र शबाना आजमीको पनि प्रमुख भूमिका छ । फिल्मको कथा सन् २००७ मा प्रदर्शन भएको पहिलो भागबाट अघि बढाइएको छ ।
करिब ४५ करोडको लागतमा बनेको यो फिल्मले ओटीटी, संगीत अघिकार र टिभी रिलिजबाट लागत यसअघि नै उठाइसकेको बताइएको छ । तसर्थ बक्स अफिसको सबै कमाई फिल्मको आम्दानी भएको छ ।









