काठमाडौं । असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलन सम्पन्न भएको ६५औँ वार्षिकोत्सवका अवसरमा सर्बियाको बेलग्रेडमा आयोजित उच्चस्तरीय स्मरणात्मक बैठकमा नेपाल सहभागी भएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव तथा नेपाली प्रतिनिधिमण्डलका नेता कृष्णप्रसाद ढकालले बैठकलाई सम्बोधन गर्दै बढ्दो जटिलता र बहुआयामिक संकटबीच असंलग्न आन्दोलन विश्व परिस्थितिलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण मार्गदर्शक रहेको बताएका छन् ।
विश्वमा द्वन्द्व, तनाव, ध्रुवीकरण र विभाजन बढिरहेका बेला असंलग्न आन्दोलनलाई नयाँ ऊर्जा दिँदै थप प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताएका छन् ।
ढकालले नेपालले हतियारको होड, आर्थिक असमानता र प्रविधिसम्बन्धी विभेदलगायत विश्वव्यापी चुनौती समाधान गर्न असंलग्न आन्दोलनलाई महत्वपूर्ण मञ्चका रूपमा लिँदै आएको बताए । उनले सदस्य राष्ट्रहरूलाई असंलग्न आन्दोलनका सिद्धान्तमा एकजुट हुँदै बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई थप बलियो बनाउन ठोस तथा समन्वित कदम चाल्न आग्रह गरे ।
बैठकमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख, परराष्ट्रमन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आन्दोलनको इतिहासको समीक्षा गर्दै वर्तमान विश्व व्यवस्थामा यसको भूमिकाबारे छलफल गरेका थिए ।
बैठकका क्रममा सर्बियाका परराष्ट्रमन्त्री मार्को ज्युरिचले नेपालमा हालै आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेका थिए । उनले बाढीबाट प्रभावित परिवार तथा विपद्मा परेकाहरूप्रति ऐक्यबद्धता जनाएका थिए ।
बैठकको अवसरमा सहसचिव ढकालले अंगोलाका विदेशमन्त्री टेटे एन्टोनियोसँग भेटवार्ता गरी द्विपक्षीय तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल गरेका थिए । त्यसैगरी उनले साउदी अरबका परराष्ट्र उपमन्त्री वालेद ए. एम. अल्खेरेजीसँग भेट गरी आपसी हितका विषयमा विचार आदानप्रदान गरेका थिए ।
ढकालले सर्बियाका कृषि, वन तथा जल व्यवस्थापनमन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज च्वियानोभिचसँग पनि भेटवार्ता गरेका थिए । भेटमा विशेषगरी कृषि तथा वन क्षेत्रसहित नेपाल–सर्बिया सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
यसअघि ढकालले सर्बियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गरेको औपचारिक रात्रिभोजमा समेत सहभागिता जनाएका थिए ।









