काठमाडौँ । नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरु गरेको छ ।
बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिका आफन्तको डीएनए नमुना संकलन गरी फेला परेका शव तथा शरीरका अंगसँग तुलना गरेर पहिचान गर्ने प्रक्रिया अघि बढाइएको हो ।
नेपाल प्रहरी अस्पतालमा बुधबार साँझ ५ बजेसम्म सम्पर्कविहीन व्यक्तिका आफन्तका ५३९ वटा डीएनए नमुना संकलन गरिएको छ । अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार सम्पर्कविहीन आफन्तले परिचय खुल्ने कागजात र दुई प्रति फोटोसहित अस्पतालमा आएर रगतको नमुना दिन सक्नेछन् ।
नमुना दिन चाहनेले अस्पतालमा उपलब्ध फाराम भर्नुपर्नेछ । फाराम भर्न समस्या भए अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमुना संकलन गर्ने जनाइएको छ । संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको घटनास्थल अपराध अनुसन्धान अधिकृतसहितको टोलीले फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम गरिरहेको छ । फेला परेका शव तथा शरीरका अवशेष सावधानीपूर्वक संकलन गरी सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।
पहिचान खुल्न नसकेका प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत वा सङ्केत नम्बर दिई फोटो, हुलिया, पहिचानका चिन्ह, कपडा तथा शवसँग फेला परेका सामग्रीको विवरण अभिलेखमा राखिएको छ । वैज्ञानिक विधिबाट पहिचान गर्न सकियोस् भनेर त्यस्ता शवबाट डीएनए नमुनासमेत संकलन गरी सुरक्षित राखिएको छ ।
फेला परेका शव वा शरीरका अंगको डीएनए परीक्षणमार्फत पहिचान गर्न नजिकको रगतको नातामध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्ने प्रहरीले जनाएको छ । नमुना दिन चाहनेले दुई प्रति पासपोर्ट आकारको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित रोग परीक्षण प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
हराइरहेका विदेशी नागरिकको हकमा विदेशमा रहेका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए परीक्षण गराई त्यसको विद्युतीय प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको बताइएको छ ।









