काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिव्यक्ति तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट मृतक प्रहरीका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई प्रभावकारी बनाउन परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ ।
त्यस्तै, मृतक प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णय भएको छ । मृतकका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने तथा सन्ततिलाई आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालय र उच्च तहसम्म नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ । प्रभावित प्रहरी एकाइमा टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुवेशी र बेत्रावती रहेका छन् ।
त्यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी मृतक, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारलाई खोजी, उपचार र आवश्यक सेवा–सुविधा प्राप्त गर्न सहजीकरण गर्ने निर्णय गरेको छ ।









